पथरी । एक नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगितामा आयोजक टिम कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङ च्याम्पियन बनेको छ । 

मोरङको कानेपोखरी गाउँपालिका–६ मा सम्पन्न प्रतियोगितामा आयोजकले ८ वटा स्वर्ण, ८ रजत र ९ कास्य पदक हात पार्दै च्याम्पियन बनेको हो । च्याम्पियन बनेको आयोजकले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । 

त्यस्तै दोस्रो बनेको सुनसरीले ८ वटा स्वर्ण, २ रजत र ३ काँस्य पदक हात पारेको छ । उसले नगद ८ हजार रुपैयाँसहित ट्रफी पाएको छ । तेस्रो बनेको झापाले ७ स्वर्ण, ९ रजत र ६ काँस्य पदक हात पारेको छ । उसले नगद ५ हजार रुपैयाँ पाएको छ । विजेता खेलाडीहरूलाई कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, आइटीएफ तेक्वान्दो डोजाङ १ नम्बर प्रदेश अध्यक्ष प्रवीनकुमार कार्की, आइटीएफ तेक्वान्दो केन्द्रीय अध्यक्ष अञ्जन धमलालगायतले पुरस्कार वितरण गरे । 

प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापा, ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, र आयोजक कानेपोखरीका गरी २५० खेलाडीले भिडन्त गरेका थिए । जसमा ९६ जना महिलाहरूले प्रतिस्पर्धा गरेका थिए ।