लक्ष्मीमार्ग । हिमालयन शेर्पा क्लब काठमाडौं बेलबारी गोल्ड कपको फाइनलमा पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।

खेलको १६ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी पिस्टन मुतुम्वाले गोल गरे । हिमालयनका कप्तान विश्वास श्रेष्ठले पोष्टमा प्रहार गरेको बल रोलिङ क्लबका गोलरक्षक मनोज प्रधानले उत्कृष्ट बचाउ गर्दै सानो डिबक्समा पञ्च गरे ।

सोही बललाई पिस्टनले जाली चुमाएका थिए । मध्यान्तर पछि हिमालयन शेर्पाले रोलिङलाई दबावमा राख्यो । रक्षात्मक देखिएको रोलिङ क्लब विरुद्ध हिमालयनका विश्वास श्रेष्ठले खेलको ५० औं मिनेटमा थप १ गोल गरे ।

जापानी खेलाडी रियो नाकामुराले प्रहार गरेको बल रिबाउन्स भएर मैदानमा झर्न नपाउँदै विश्वास श्रेष्ठले बललाई जाली चुमाए । लगत्तै २ मिनेटपछि हिमालयन शेर्पाका विसोन गुरुङले १ गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा रोलिङ क्लब झापाका ड्याडी वाम्बाले टिमका लागि सान्त्वना गोल गरे । रोलिङका बबिन बोहोरालाई डिबक्सभित्र लडाएपछि रोलिङले पेनाल्टी सुटको अवसर पायो । सोही अवसरलाई ड्याडी वाम्बाले गोलमा परिणत गरे ।

हिमालयन शेर्पाका त्रिदेव गुरुङले म्यान अफ दि म्याचको उपाधिसँगै नगद ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे । आज (मङ्गलबार) दोस्रो सेमिफाइनल खेल राजारानी (रारा) फुटबल क्लब धनकुटा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ ।