धरान । धरानमा पहिलोपटक सम्पन्न स्केट प्रतियोगितामा काठमाडौंका खेलाडी शरद राई च्याम्पियन बनेका छन् ।

धरान–१८ को खुल्ला जिम परिसरमा रहेको स्केट पिचमा भएको प्रतिस्पर्धामा राईले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेका हुन् । विजेता बनेका उनले स्केट बोर्ड प्राप्त गरे ।

त्यस्तै धरानका विजय लिम्बू दोस्रो बन्दा काठमाडौंका एलन राई तेस्रो बनेका छन् । उनीहरूलाई डेनमार्कमा बस्दै आएकी नेपाली शिष्का तुलाधरले प्रोत्साहन स्वरूप जनही २–२ हजार रुपैयाँ र टिसर्ट प्रदान गरिन् ।यता बेस्ट अफ दि शो हाफ पाइम ज्यामतर्फ भने एलन राई प्रथम बन्दा शरद राई दोस्रो र विजय लिम्बू तेस्रो बने ।

धरान स्केट बोर्डिङको आयोजनामा भएको प्रतियोगितामा काठमाडौं र धरानका गरी २६ जना प्रतिस्पर्धी थिए । प्रतियोगिताको उद्घाटन धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) ले गरेका थिए ।

उनले युवाहरूलाई कुलतमा नफस्नका लागि आग्रह गर्दै यस्ता खेलहरूले स्वास्थ्यलाई पनि फाइदा पुग्ने बताए । कार्यक्रम हाम्रो स्केट सप, स्केट सप धरानले प्रायोजन गरेको आयोजकका सदस्य विशाल लिम्बूले जानकारी दिए ।

कार्यक्रममा मिलन लिम्बूले म्युजिकको संयोजन गरेका थिए । नेपालमा धरान, काठमाडौं र पोखरामा मात्रै स्केट पिच रहेको छ ।