बेलबारी । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको शुक्रवार लक्ष्मी मार्ग स्थित लक्ष्मी मावि खेलमैदानमा भएको खेलमा पाँच शून्य गोल अन्तरले एपीएफ क्लब काठमाडौँ सँग भारतको रोयल फुटबल क्लब सिलिगुडी स्तब्ध भएको छ ।

खेलको पहिलो हाफ मै दुई गोल लगाएको एपीएफले दोस्रो हाफमा तिन लगाउन सफल भएको छ । खेल सुरु भएको २२ मिनेटमा एपीएफका आवास लामिछानेले गोल गर्दै टिमको खाता खोल्न सफल भए । त्यसको केहि समयमै एपीएफकै प्रदिप लामाले गोल गर्दै खेललाई दुई शून्यमा पुर्याएका थिए । खेलको ४९ औँ मिनेटमा एपीएफका आशिस लामाले र ७५ मिनेटमा सविन गुरुङले गोल गरे भने ८५औँ मिनेटमा आशिस लामाले पुन अर्को गोल गर्दै खेललाई ५–० मा विजयी गराए । खेलको म्यान अफ दि म्याच एपीएफका आशिस लामा घोषित भए ।   

शनिबार हिमालयन शेर्पा क्लब काठमाण्डौं र गाईघाट फुटबल क्लब उदयपुर बिच हुनेछ । प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११÷११ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

 प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।