लक्ष्मीमार्ग । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रोलिङ क्लब धुलाबारी झापाले विजयी सुरुवात गरेको छ ।

लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा बिहीबारदेखि सुरु भएको खेलमा च्यासल युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयसम्म बराबरी १–१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा च्यासलका सुसन लामाले गोल गरेका थिए ।

यता झापाका विदेशी खेलाडी हेन्थी वेलेले गोल गर्दै बराबरी गरे । टाइबे्रेकरमा झापाका मार्टिन सिलो, जोन जुरु, वविन बोहरा र पेमा तामाङले गोल गरे । च्यासलका अजित गुरुङ, मौसुवा अवगना र केट्हा यानिकले गोल गरे भने कमल श्रेष्ठ र अर्वीन राईको प्रहार बाहिरिएको थियो । आज (शुक्रबार) सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं र भारतको रोयल फुटबल क्लब सिलिगुडीबीच खेल हुँदै छ ।

दुई वर्षदेखि रोकिएको गोल्डकप विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी छन् ।

आयोजक डिवाइसी मोरङसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतिस्पर्धा गरिरहेका छन् ।