विराटनगर । दशैं सकिएलगत्तै कृषि कर्ममा लागेका मोरङ धनपालथान गाउँपालिका–६ बबियाबिर्ताका उमालाल रायलाई यतिखेर भ्याई नभ्याई छ । सनपाटलाई हिलोबाट झिकेर रेशा झिक्ने काममा उनी बिहानदेखि बेलुकैसम्म व्यस्त रहन्छन् ।

‘दशैं सकिएपछि अर्को दोस्रो चाडपर्व तिहार र छठ मुखमैमा आइससक्यो’ पानी जमेको ठाउँदेखि सनपाट निकाल्न व्यस्त रायले भने, ‘तीन कठ्ठामा सनपाट लगाएको छु । यही बेचेर चाडपर्व मनाउने तयारी गरेको छु ।’ प्रतिकठ्ठामा ४ देखि ५ मन सनपाट उत्पादन भएको जानकारी दिँदै उनले भने, ‘विगतको जस्तो अहिले सनपाटको भाउ छैन । त्यही भएर पनि कृषकहरूले यसको खेती लागाउन छोड्दै गएका छन् ।’

यहाँका किसानले उत्पादन गरेको सनपाट धनपालथानको कर्सिया र कटहरीको नयाँबजारमा लगेर बिक्री गर्दै आएका छन् । अहिले प्रतिमन ४ हजार पाँच सयदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले सुनाए । सनपाट बेचेको पैसाले छोराछोरीलाई नयाँ लुगा अनि दीपावली र छठपर्व मनाउने तयारी गरेको उनले बताए ।

सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, उदयपुरलगायत जिल्लामा २० हजार हेक्टरमा जुटखेती हुने गरेको अनुमान छ । मोरङमा मात्र अहिले ६ हजार हेक्टरमा सनपाट खेती हुने गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।

सुनसरी र मोरङमा मात्र ११ जुट उद्योग छन् । तीमध्ये आधा अहिले बन्द छन् । चालु अवस्थामा रहेका ५ वटा जुट उद्योगलाई वस्तु उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा जुटको ३० प्रतिशतमात्र नेपाली जुट उत्पादनले धान्दै आएको छ । बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात गरिन्छ । जसमध्ये ५५ प्रतिशत भारत र १५ प्रतिशत बङ्गलादेशबाट आउने गरेको जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाको भनाइ छ ।

साउनदेखि असोजसम्मको समयलाई जुट उत्पादन र बिक्रीको समय मानिन्छ । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभाव झेल्दै उत्पादन गरेको जुटको उचित मूल्य नपाएका कारण उत्पादन गर्न छाडेको कृषक रायले बताए ।

भूमि, व्यवस्था,  कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता उप्रेतीका अनुसार मोरङ, सुुनसरी र झापा जिल्लामा मात्रै खेती हुने जुटमध्ये मोरङमा सबैभन्दा बढी खेती हुने गरेको थियो । चार दशकअगाडिको सरकारी तथ्याङ्कले मोरङमा मात्रै ६० हजार हेक्टर क्षेत्रफलमा जुट खेती भएको देखिन्छ ।

उप्रेतीका अनुसार सरकारी प्रोत्साहन र किसानले पाउने जुटको मूल्य स्थिर मुख्य समस्याको रूपमा देखिएको छ । प्रविधि र उन्नत बिउ विजनलाई प्रोत्साहन दिनुपर्छ र सरकारले पनि सोहीअनुसार नीति नियम बनाउन सके मात्र सनपाट खेतीप्रति कृषकको आकर्षण बढ्ने कृषि प्राविधिकहरू बताउँछन् ।