धरान । हाम्रो कलेक्सन थ्री बाइ थ्री बास्केटबल खसी कपको उपाधि ब्रदर्स बास्केटबल टिम धरानले जितेको छ । 

हाम्रो कलेक्सनको आयोजनामा बुधबार सम्पन्न एक दिवसीय प्रतियोगितामा ब्रदर्सले उपाधि जितेको हो । फाइनलमा इमोर्टल क्लब धरानलाई ११–१० अंकले पराजित गरेको हो । उपाधि जितेको ब्रदर्सले २० केजीको खसीसँगै प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता इमोर्टलले नगद २ हजार ५ सय रूपैयाँ र प्रमाण पत्र पाएको छ । ब्रदर्सका सर्वधन राईले व्यक्तिगत ७ अंक जोडेका थिए ।

धरान ८ यलम्बर खेल मैदानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ मा टिमहरू सहभागी रहेका थिए । प्रतियोगितामा धरान, विराटनगर, दमक, बेलबारी, तरहरालगायतका २२ टिम सहभागी रहेका थिए । प्रतियोगिताको फाइनल खेलपूर्व धरान बास्केटवल संघ र सुनसरी बास्केटबल संघका पूर्व खेलाडीबीच मैत्रीपूर्ण खेल सम्प्न्न भएको थियो । धरान बास्केटबल संघले सुनसरीलाई ३१–३० अंक हराएको थियो । धरान बास्केटबलबाट प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले व्यक्तिगत २४ अंक जोड्दा सुनसरीबाट देवराज राईले १५ अंक जोडेका थिए । 

प्रतियोगिताका विजेताहरूलाई कार्यक्रमका सभाध्यक्ष हाम्रो कलेक्सनका व्यवस्थापक रविवास्फोर, प्रमुख अतिथि नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, विशेष अतिथि जिल्ला बास्केटबल संघ सुनसरी अध्यक्ष नारायण सुवेदी, पुर्व अध्यक्ष सुधिर लिम्बू, प्रदेश १ प्रशिक्षक विकास चाम्लिङ राई, धरान बास्केटवल संघ सल्लाहकार खगेन्द्र रिजाल, कोषाध्यक्ष गौरव श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।