धरान । सुनसरीको इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्यु भएको घटनाप्रति नेकपा एकीकृत समाजवादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टीका जिल्ला अध्यक्ष गोविन्द निरौला तथा सचिव वसन्त सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा थुनामा रहेका सुनसरी भोक्राहा ५ का हकिम साहको प्रहरी हिरासतमै मृत्यु भएको घटनाको निस्पक्ष र प्रभावकारी रूपमा छानबिन गर्न माग गरिएको छ । 

सत्यतथ्य चाँडोभन्दा चाँडो बाहिर ल्याउन सरोकारवाला निकायसँग माग गरेको छ । साथै घटनाबाट पीडित परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्ति प्रदान गर्नका लागि स्थानीय प्रशासन र सरकारसँग माग गरेको छ । 

साहको असोज २३ गते निधन भएको थियो भने असोज २४ गते इनरुवामा मृतकका आफन्तले प्रदर्शन गरेका थिए । सामाजिक एकता र सद्भाव खलल् पुग्ने गरी कुनै पनि कार्य नगर्न पनि पार्टी जिल्ला कमिटीले आग्रह गरेको छ । घटनासँग सम्बद्ध साथै सबै पक्षलाई संयमता अपनाउँदै आपसी सामाजिक सदभाव, सामाजिक एकता, सहिष्णुता र भातृत्व कायम राख्नका लागि अपिल गरिएको छ ।