धरान । नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मराज निरौलाले पार्टी विधि, विधानले चल्ने अराजकताले नचल्ने बताएका छन् । 

नेकपा एमाले धरान नगर कमिटीले आयोजना गरेको दशैंतिहार, छटको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लाका केही नेताले अराजकता प्रदर्शन गरिरहेको आरोप लगाए । 

उनले भने, ‘रेवती भण्डारीजीले अराजकता प्रदर्शन गरिरहनु भएको छ, रेवती भण्डारीले अराजकता त्याग्नुपर्छ ।’ उनले पार्टी विधि, विधान र सिद्धान्तले चल्ने बताउँदै अराजकताले केही समयका लागि भीड मात्रै जम्मा गर्ने टिप्पणी गरे । 

उनले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किसकेकाले हिजो भएका संरचना तथा नेतृत्वको जिम्मेवारी पनि सोहीअनुसार हुने बताए । उनले जिल्ला अध्यक्ष रमेश बस्नेत नै रहेकाले सोहीअनुसार नै पार्टी चल्ने बताए । उनले विधि, विधान र सिद्धान्तलाई नमिच्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

नगर अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद जयकुमार राई, जिल्ला अध्यक्ष रमेश बस्नेत, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाली काङ्ग्रेसका सभापति श्याम पोखरेल, नेकपा माओवादीका नगर इन्चार्ज चोत्लुङ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बूलगायत सहभागी थिए ।