धरान । शिल्पी समुदायको हितविरुद्ध हुने गरी केपी शर्मा ओली नेतृत्वको सरकारले दलित विकास समितिलाई निष्क्रिय बनाएकाले सो समितिलाई सक्रिय बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई अनुरोध गरेको छ । 

नवनियुक्त मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई बधाई ज्ञापन गर्दै ओली सरकारले निस्क्रिय पारेको समितिलाई सक्रिय बनाउन माग गरेको हो । समितिका अनुसार शिल्पी समुदायको शिक्षा क्षेत्रमा काम गर्दै आएको समितिलाई सक्रिय बनाउन माग गरिएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीले बताए । हालै नियुक्त भएका मन्त्री श्रेष्ठ पनि जसपाको कोटाबाट मन्त्री बनेका हुन् । 

त्यसक्रममा समितिले पाँच बुँदे मागपत्र मन्त्री श्रेष्ठलाई राखेका छन् । समितिका मुख्यसचिव डिबी नेपालीका अनुसार समितिलाई पूर्णता दिई सक्रिय बनाउनुपर्ने, सरकारअन्तर्गतकै राष्ट्रिय वादी समुदाय उत्थान विकास समितिलाई पूर्णता दिई सक्रिय बनाउनुपर्ने माग राखिएको छ । 

त्यस्तै दलित समुदायको आर्थिक, सामजिक र शैक्षिक विकासका लागि एउटा शक्तिशाली निकाय बनाउनुपर्ने, राज्यका विभिन्न निकाय तहमा राजनीतिक नियुक्ति गर्दा शिल्पी र दलित समुदायको अनिवार्य गरिनुपर्ने, र दलित समुदायको विभिन्न सवालहरूलाई सम्बोधन गर्न बजेट विनियोजन गरिनुपर्ने माग राखिएको छ । मन्त्री श्रेष्ठलाई माग पत्र बुझाइएको छ । मन्त्री श्रेष्ठले समितिलाई पूर्णता दिई सक्रिय बनाउनका लागि आफू सकारात्मक रहेको बताए ।