धरान । कम्युनिष्ट सरकारले आफ्नो ५० वर्षे राजनीतिक सिध्याउनका लागि ललिता निवास प्रकरणमा जबर्जस्ती तानेको नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आरोप लगाएका छन् । 

नेपाली कांग्रेसलाई समेत कमजोर बनाउने षडयन्त्र कम्युनिष्ट सरकारबाट भएको उनले बताए । नेपाली कांग्रेस इटहरी नगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गच्छदारले ललिता निवास प्रकरणमा आफूले कुनै पनि निर्णय नगरेको स्पष्ट पारे । भने, ‘सचिवस्तरबाट तयार पारिएको गुरुयोजनालाई सैद्धान्तिक सहमतिका लागि आफूले मन्त्री परिषद्मा पेश मात्र गरेको हो । त्यसमा आफूले कुनै निर्णय गरेको छैन ।’

संसदीय समितिको प्रतिवेदनको आधारमा आफ्नो राजनीतिक समाप्त पार्ने खेल भएको बताए । उनले माधव नेपाललाई समेत निस्तेज बनाउन अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने विषयलाई आधार बनाएर मुद्दा चलाइएको गच्छदारको आरोप छ । विशेष अदालतले सामान्य धरौटीमा छाडेपछि उनी २० महिनापश्चात् गृहजिल्ला आएका हुन् । 

कार्यक्रममा संघीय सांसद सीताराम मेहता, संविधानसभा सदस्य कल्पना चौधरी, इटहरीका सभापति हेमकर्ण पौडेललगायतले बोलेका थिए ।