प्रदेश १ को प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन शुक्रबार (आज) देखि सुरु हुँदैछ । मुख्यमन्त्री भीम आचार्यले आफू नेतृत्वको सरकारलाई विश्वासको मतसमेत लिने उद्देश्यले हिउँदे अधिवेशन बोलाएका हुन् ।

सरकारको निर्णयपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार दिउँसो २ बजेका लागि नवौं अधिवेशन आह्वान गरेका थिए । सोही अनुसार प्रदेशसभाको नयाँ सभाहलमा हिउँदे अधिवेशनको तयारी गरिएको प्रदेश १ को संसद सचिवालयले जनाएको छ ।

आफू नेतृत्वको संसदीय दलका सांसदहरुले अर्को दल रोजेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । सरकार नेतृत्व गरिरहेको दल फुटेपछि संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा अघि बढेको बताएका छन् ।

विपक्षी दलहरु भने ३० दिनभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने अडानमा छन् । तर त्यो प्रक्रिया कहिले अन्त्य हुने भन्नेमा मुख्यमन्त्री आचार्यले स्पष्ट खुलाएका छैनन् । बुधबारमात्रै मुख्यमन्त्री आचार्यले दशैं मनाएर संसदमा प्रस्तुत हुने स्पष्ट संकेत गरेका छन्

५० सांसदको साथ रहेको दाबी गर्दै आएको विपक्षी गठबन्धनले सरकार पूर्ण रुपमा अल्पमतमा रहेकोले संसद अधिवेशन अगावै मुख्यमन्त्री आचार्यले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग जम्मा ४१ सांसदमात्रै छन् । सरकार टिकाउन मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन आवश्यक पर्नेछ ।

विपक्षी गठबन्धनमा रहेका दलका नेताहरुले अल्पमतमा परिसकेको अवस्थामा सरकारले आफ्नो आयु लम्ब्याउने खेल खेल्न खोजेको भन्दै मुख्यमन्त्रीको राजिनामा माग गरेका हुन् ।