यासोक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता र दलगत स्वार्थको कारण देशले प्रदेशको संरचनालाई थेग्न नसक्ने बताएका छन् । प्रदेश सरकार सञ्चालन गर्न वैदेशिक ऋण लिनुपर्ने बाध्यता आएको भन्दै तत्काल प्रादेशिक संरचना खारेज गर्न माग गरेका हुन् ।

पाँचथरको फिदिममा पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै थापाले सांसद् किनबेचसँगै राजनीतिक किचलो मात्रै बढेको, भूकम्प र कोभिडको महामारीमा केन्द्र र स्थानीय सरकारको मात्रै प्रभावकारी भूमिका देखिएको भन्दै राप्रपाको आगामी मुख्य एजेण्डा प्रदेशको संरचना खारेजी हुने बताए । नागरिकको पक्षमा केन्द्र र स्थानीय सरकारले राम्रो काम गरेको भन्दै केन्द्र र स्थानीय सरकारलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

झण्डै दुईतिहाइको कम्युनिष्ट तीन टुक्रा भएको स्मरण गर्दै उनले गठबन्धन सरकारले देशलाई निकास दिन नसक्दा भ्रष्टाचार बढ्नुका साथै विदेशी शक्ति हाबी भएको बताए ।  थापाले पार्टीको एकता महाधिवेशनपछि राप्रपा वैकल्पिक शक्ति बन्ने दाबी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कार्यसम्पादन समितिका सदस्य तेजकुमार कुरुम्वाङ केन्द्रीय सदस्य प्रेमराज थाम्सुहाङ, प्रदेश सदस्य घनेन्द्र कुरुम्वाङलगायत प्रदेश र जिल्लातहका नेताहरूको सहभागिता रहेको थियो ।