धरान । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको क्षेत्राधिकारभित्र पर्ने धरानमा नगर समिति गठन भएको छ । 

धरान क्षेत्रका जिल्ला उपाध्यक्षको संयोजकत्वमा रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ । बिहीबार भेडेटारमा सम्पन्न शुभकामना आदानप्रदान तथा धरान नगर भेलाले समितिको सहसंयोजकमा लोकेन्द्र श्रेष्ठ, सचिवमा सन्तोष कोइराला, सहसचिवमा अनिल श्रेष्ठ र कोषाध्यक्षमा पुरन चेम्जोङ रहेका छन् । यस्तै समितिको सदस्यमा सञ्जिव बान्तवा र एकजना सदस्य मनोनित गरिने जिल्ला अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिए । 

Hissan_sunsari (2)

भेलामा निवर्तमान कोषाध्यक्ष सन्तोष कोइरालाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले कोरोना महामारीका बीचमा संस्थाले उलेख्य प्रगति गर्न नसके पनि धेरै विद्यालयहरूलाई जोड्न सकिएको बताए । हिसानका केन्द्रीय सदस्य गङ्गा चौलागाईंले आफूले केन्द्रसँग समन्वयकारी भूमिका खेल्ने बताए । उनले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै कार्यसफलताको कामना गरे । 

त्यसक्रममा कवि अनिल पौडेलले पञ्चायतकालमा शिक्षकको बिम्ब प्रस्तुत गर्दै निर्भय शीर्षकको कविता पाठ गरे । हिसानको केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरेले शिक्षालयहरू अस्वस्थ्य प्रतिस्पर्धामा जान नहुने धारणा व्यक्त गरे । उनले भने, ‘हामी हामीबीचको श्रेष्ठता कायम राख्नुपर्छ । शिक्षालयले शुल्क बुझ्ने मात्रै हैन, विद्यार्थीको हित बुझेर हिसानले काम गर्नुपर्छ ।’

उनले शिक्षालय सेवामुखी व्यवसाय भएकाले सोहीअनुसार नै सेवातर्फ पनि ध्यान दिनुपर्ने आग्रह गरे । जिल्लाका कोषाध्यक्ष नेत्र सुवेदीले अतिथिहरूलाई स्वागत गरेको कार्यक्रममा सचिव सागर भट्टराईले सञ्चालन गरेका थिए ।