इनरुवा । नेपाली काँग्रेसका उपसभापति बिजय कुमार गच्छदारले ललिता निवास प्रकरणमा आफुमाथिको आरोप प्रमाणित भए मृत्युदण्ड रोज्ने बताएका छन ।
सुनसरीको बर्जुमा आयोजित सभालाई सम्बोधनका क्रममा गच्छदारले सो कुरा बताएका हुन । गच्छदारले आफ्नो राजनीतिक करियर समाप्त पार्न लाग्नेहरु स्वयं परास्त हुने बताए ।
नेता कार्यकर्ता माझ एमाले प्रति आक्रामक देखिएका गच्छदारले आफुलाई एमालेका नेताहरुले फसाएको बताए । आफुलाई स्वयं केपी शर्मा ओलीको डिजाइनमा फसाइएको उनले दाबी गरे ।
तत्कालिन समयमा एमालेमा नमिलेकै कारण आफुमाथि सुनियोजित जाल बुनिएको गच्छारको भनाई थियो । आफुलाई जबरजस्ती फसाइएको बताएका गच्छदारले आरोप प्रमाणित गरेर देखाउन चुनौती समेत दिए । गच्छदारले भने, “ओलीजीसँग चुनावी तालमेल गर्न सकिन, एमालेमा समाहित हुन सकिन, आफ्नै पुरानो पार्टी काँग्रेसमै फर्किए । त्यसैकारण तत्कालिन सरकारले सुनियोजित रुपमा फसायो ।”
सम्बोधनको अधिकांश समय ललिता निवास प्रकरणको विषयमा खर्चिएका गच्छादारले अन्यको सुझाव अनुशरण गर्दा नगरेको गल्तीको आरोप खेप्नु परेको बताए । उनले आफ्नो राजनीतिक करियर सक्ने दाउपेच भैरहेपनि मैदानबाट भने नभाग्ने बताए । गच्छदारले न्यायको लागि कानुनी लडाई लड्ने बताए ।
कार्यक्रमकै क्रममा गच्छदारले आफुले राज्यको एक पैसा समेत हिनामिना नगरेको दोहोर्याए । उनले आफुलाई फसाउन खोज्ने प्रति लक्षित गर्दै भने, “सक्छौ भने आरोप प्रमाणित गरेर देखाइयोस, गल्ती ठरिएर मृत्युदण्ड स्विकार्ने छु ।”
गच्छदार नेपाली काँग्रेस गाउँ कार्य समितिले आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन बर्जु पुगेका थिए । सो कार्यक्रममा १४ औं महाधिवेशनबाट निर्वाचित विभिन्न तह र तप्काका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीका अनुसार अनुसार नेता गच्छदारले केहि दिन सुनसरीका नेता कार्यकर्तामाझ बिताउने छन ।