विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैंपछि मात्रै विश्वासको मत लिने योजना रहेको बताएका छन् । 

प्रदेशसभाको नयाँ भवनको उद्घाटन कार्यक्रममा बोल्दै बुधबार मुख्यमन्त्री आचार्यले सकेसम्म सबै दल सहभागी भएर सहमतिको सरकार बनाउने नभए दसैंपछि विश्वासको मत लिने बताएका हुन् । 

मुख्यमन्त्री आचार्यले अहिले पनि एमाले सबैभन्दा ठूलो दल भएको र अरु कोहीसँग बहुमत नभएकाले सरकार छाडिहाल्नु पर्ने बाध्यता नदेखेको दाबी गरे । ‘म संविधान र यही व्यवस्थाका लागि लडेको व्यक्ति हुँ,’ मुख्यमन्त्री आचार्यले भने, ‘संिवधान मिच्ने कुरै आउँदैन । तर, मेरो पहिलो प्रस्ताव यही सरकारमा तपाइँ सबै दलहरु सहभागी बन्नुस् र चुनावसम्म सहयात्रामा जाउँ भन्ने छ ।’

प्रदेशका विपक्षी दलहरुले मुख्यमन्त्री आचार्यले असोज २४ भित्र विश्वासको मत लिइसक्नुपर्ने बताउँदै आएका छन् । कार्यक्रममा बोल्ने विपक्षी नेताहरुले भने मुख्यमन्त्रीले अल्पमतमा परेका कारण नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । काँग्रेसका प्रमुख सचेतक केदार कार्की, माओवादीका दलका नेता इन्द्र आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्र राई, जनता समाजवादीका नेता जयराम यादव लगायतले सरकारले मार्गप्रशस्त गर्नुपर्ने माग गरेका थिए ।