धरान । सत्तारुढ गठबन्धनबीचमा मन्त्रालय बाँडफाँडमा लगभग टुंगो लागेको छ । बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गरिसक्ने जनाइएको छ ।
सत्तारुढ दलमा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले समान ४–४ वटा मन्त्रालय पाउने टुंगो लागेको छ।
मंगलबार बिहान सत्तारुढ दलका शीर्षस्थ नेताहरु बसेर मन्त्रालयको टुंगो लगाएका हुन् । भागबण्डाअनुसार बुधबार (आज) कसले कुन मन्त्रालय पाउने भन्नेबारे दलहरुले अन्तिम टुंगो लगाउने छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले दुईपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।
उनी २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेसले अब सञ्चारसहितका अन्य पाँचवटा मन्त्रालय लिने टुंगो लागेको हो । जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने लगभग टुंगो लागेको बताइन्छ । एकीकृत समाजवादीले बिहीबार सपथअघि मात्र मन्त्रीहरुको टुंगो लगाउने बताएको छ ।