धरान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत असोज ९ गते सम्पन्न नगर समितिका पदाधिकारीलाई प्रेस युनियन वराहक्षेत्र नगर समितिले सम्मान गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच वराहक्षेत्र नगर समितिमा निर्वाचित भएका सभापति रमेश कार्कीलगायत १८ जना पदाधिकारीलाई सम्मानित गरिएको हो । कार्यक्रममा सम्मानितलाई प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले सम्मान पत्र प्रदान गरे । कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत विभिन्न समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । निर्वाचित समितिले वराहक्षेत्र नगरपलिकामा कांग्रेसलाई एक ढिक्का बनाएर आसन्न निर्वाचनमा स्थानीय निर्वाचनमा विजय हासिल गर्न शुभकामना समेत दिएका थिए ।
नगर सभापति रमेश कार्कीले अधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएको बताउँदै अब पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने प्रतिवद्धता गरे । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले वराह कांग्रेस एकढिक्का भएर आसन्न निर्वाचनमा स्थानीयदेखि केन्द्रसम्मको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई जिताउनु पर्ने बताए ।