नेकपा माओवादी केन्द्रको सुनसरी जिल्ला कमिटीमा देखिएको विवाद धरान उपमहानगरपालिकामा पनि देखिन थालेको छ ।
पार्टीभित्र देखिएको गुटउपगुटका कारण नेतृत्वको विषयलाई लिएर सिर्जना भएको विवाद पालिकास्तरका कमिटीहरूमा देखिन थालेको हो । धरान उपमहानगरपालिकामा पार्टीभित्र गुटउपगुट हाबी भएको भन्दै नगर सदस्य तथा ३ नम्बर वडा कमिटीका सचिव मिङ्मा भोटेले सामाजिक सञ्जालमार्फत पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको बताए ।
भोटेका अनुसार पार्टीभित्र गुट उपगुट बनाई कार्यकर्तामा गुटमा सामेल हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुँदै गएको र त्यसअनुसारको दबाव आउन थालेको भन्दै आफू कुनै पनि गुटमा खुल्न नसक्ने भएकाले राजीनामा दिनुपरेको बताए ।
उनले भने ' केन्द्रमा गुटबन्दी नदेखिए पनि प्रदेश जिल्ला हुँदै स्थानीय तहमा पनि देखियो, गुटमा सामेल हुनुपर्ने, गुटमा खुल्नुपर्ने जस्ता दबावहरू आउन थाले । गुटको स्वार्थ अनुरूपभन्दा पनि सिङ्गो पार्टीलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर लाग्नुपर्छ भन्ने हो । त्यो सम्भव नभएपछि राजीनामा दिनु पर्यो ।'
केही समयअघि सुनसरी जिल्ला कमिटीले धरान उपमहानगरपालिकामा चोत्लुङलाई अध्यक्ष बनाएको भए पनि प्रदेश कमिटीले जिल्लाको निर्णयलाई उल्ट्याई अइन्द्रविक्रम बेघालाई अध्यक्ष तथा इन्चार्ज तोक्दै चोत्लुङलाई सह–इन्चार्ज जिम्मेवारी दिएको थियो ।