नेपाल परिवार दलको प्रदेश नम्बर एकको तेस्रो अधिवेशन सुनसरीको इटहरीमा बिहिबार सम्पन्न भएको छ । दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले १०१ सदस्यीय प्रदेश  समिति घोषणा गरेको छ ।

दलले  पार्टीको महामन्त्री विनोद डागी संयोजक, माननीय मिलन कुमारी राजवंशी , अशोक कुमार चौधरी र राजेन्द्र मुर्ति  पन्त सहसंयोजक, सचिव राम बहादुर लिम्बू  लगायत १०१ जनाको प्रदेश  कार्य समितिको चयन गरेको हो  ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिवर्तनका उपलब्धिहरू संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिवादीहरूबाट मुक्त गर्न सम्पूर्ण शान्ति तथा विकास प्रेमी नागरिकहरू  एकजुट भएर अघि बढ्नु पर्ने बताए ।

 नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरूलाई जनताले अस्वीकार गरी नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरी मुलुकको विकास र समृद्धिको यात्रालाई तीव्रता दिनु पर्ने उल्लेख गरे ।

संविधान सभाका सभासद् समेत रहेका ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुःख पाउने र देशको अमूल्य समय खेर जाने हुँदा सबै नागरिकलाई समयमै निःशुल्क खोप प्राकृतिक विपत्ति पीडितलाई तुरुन्त उचित राहत, नेपालको हित केन्द्रित आर्थिक कूटनीति तथा युवाहरूलाई रोजगारीको ग्यारेन्टी जस्ता विषयहरूमा सर्वपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आवश्यक रहेको बताएका थिए । 

देशमा पर्ने आर्थिक भारलाई ध्यान दिँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसँगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरूबिच समझदारी आवश्यक रहेको बताउँदै कोभिड–१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरू सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाव समेत दिएका थिए ।

 अध्यक्ष ढकालले आगामी निर्वाचन अघि नै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद् लगायतको व्यवस्था गर्न गर्नु पर्ने भन्दै संविधानलाई सर्व स्वीकार्य बनाउन नेपाली उत्पीडित समुदायको हक अधिकार थप सुनिश्चित गर्न आवश्यक पर्ने सुधारको लागी संविधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने ठहर नेपाल परिवार दलको रहेको पनि बताए । 

 दलका प्रदेश  सचिव राम बहादुर लिम्बुले जनताले दुई तिहाइ मत दिँदा पनि देशले स्थिर सरकार पाउन नसकेको बताएका थिए । उनले पार्टीले दिने जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न  तयार रहेको बताउँदै आगामी निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तह देखि सङ्घीय संसद् सम्म सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा शान्ति, संवाद र पारस्परिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टाचार मुक्त बनाउन नेपालले भूमिका खेल्ने कुरा प्रदेश  संयोजक विनोद गाडिले आफ्नो  मन्तव्यको क्रममा धारणा व्यक्त गरेका थिए । 

दलले पिस फोर्स प्रदेश नम्बर एकको संयोजकमा अशोक कुमार चौधरी (सुनसरी ) र सङ्गठन विभाग प्रमुखमा अशोक कुमार चौधरी (विराटनगर) लाई चयन गरेको छ।

परिवार दलले पछिल्लो समय देश भरी आफ्नो सङ्गठन बिस्तार तथा  कार्यक्रमलाई तीव्रता दिएको छ । साथै नेपाल परिवार दलको सुनसरी जिल्लाको तेस्रो अधिवेशन पनि सम्पन्न भएको छ। उक्त अधिवेशनले लक्षण कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्व समतले चयन गरेको छ।