विजयपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश १ कमिटीले सुनसरी जिल्ला समन्वय समितिको असोज ७ गतेको निर्णय खारेज गरेको छ भने समितिका संयोजक योगेन्द्रप्रसाद मण्डल ‘पप्पु’ लाई स्पष्टीकरण सोधेको छ ।

जिल्ला समन्वय समितिले असोज ७ गते निर्णय गर्दै सुनसरीका १२ वटा स्थानीय तहका लागि नेतृत्व तोकेको थियो । प्रदेश कमिटीले उक्त निर्णय खारेजीका साथै संयोजक मण्डललाई स्पष्टीकरण सोधेको हो ।

समन्वय समितिले पार्टीको विधि, प्रक्रिया र पद्दति विपरीत निर्णय गरेको भन्दै निर्णय खारेज गरिएको छ । समितिका संयोजक मण्डलले पार्टीको विधि, प्रक्रिया र पार्टीको केन्द्रीय समितिको परिपत्र विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण पनि सोधेको हो ।

समन्वय समितिका संयोजक ‘पप्पु’ ले विधि विपरीत व्यक्तिको इच्छाअनुसार पार्टी चलाउन खोज्दै निर्णय गरेकाले निर्णयलाई खारेज गरेको बताइएको छ ।

सुनसरी संयोजकले समन्वय समितिको उपल्लो तहको प्रतिनिधि नराखी बैठक बसेको, बैठक स्थगित गर्न प्रदेश समितिले अनुरोध गरे पनि क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेकाले खारेज गरिएको एक सदस्यले बताए । संयोजक मण्डलले विद्यार्थी सङ्गठनको इतिहासमा नै नभएको कुरा पार्टीको लेटरप्याडमा समिति घोषणा गरेको ती सदस्यको भनाइ छ ।

पार्टीका प्रदेश अध्यक्ष सुरेशकुमार राई र इञ्चार्ज सुरेन्द्रकुमार कार्कीद्वारा हस्ताक्षरित परिपत्रमा पार्टीको प्रदेश र केन्द्रको निर्णयविपरीत र पार्टीको आधारभूत नीति, निर्णय र निर्देशनलाई समेत पालना नगरी जिल्ला संयोजकको समन्वयकारी भूमिका विपरीत गरिएको निर्वाचन क्षेत्रीय समन्वय समिति, उपमहानगर, नगर र गाउँपालिकाहरूको पदाधिकारीलाई अनधिकृत जिम्मेवारी दिएकाले खारेज गरिएको उल्लेख छ ।