चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको २२ औ साधारण(परिषद्) सभा शुरु भएको छ । 

मुना सामुदायिक भवन चन्द्रगढीमा आइतबार शुरु भएको सभालाई भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले उद्घाटन गरे ।

सभामा समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा अवसर तथा चुनौती र भावी योजनाहरु सार्वजनिक गरिएको थियो । कोषाध्यक्ष अनुज खतिवडाले आम्दानी भन्दा खर्च बढी भएको आर्थिक प्रतिवेदन प्रस्तुत् गरे । 

गत आर्थिक वर्षबाट देखा परेको कोभिड –१९ को महामारी तथा नेपाल सरकारले ०७७ जेठ १५ बाट काठपात वितरण गर्न रोक लगाएका कारण लक्ष्यको १७ दशमलव २६ प्रतिशत मात्र प्रगति हासिल गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

समूहका अध्यक्ष पोखरेलको सभापतित्वमा शुरु भएको सभामा ७७ चैत्र २८ गते सम्पन्न परिषद् सदस्यको निर्वाचनमा विजयी २ सय २४ सदस्यलाई सपथ तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । 

समूहका सह–सचिव चुडामणि पराजुलीले स्वागत गरेको कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष ब्रम्ह्लाल ढुङ्गना, माओवादी केन्द्रका शिवकुमार राजभण्डारी, राप्रपाका जिल्ला सदस्य बाबुराम पराजुली, भद्रपुर नगरका उपमेयर चन्द्रमाया श्रेष्ठ, सङ्घ–संस्थाको तर्फबाट चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई, समूहका सल्लाहकार विष्णुप्रसाद शिवाकोटी, मेची सव–डिभिजन वन कार्यालयका प्रमुख राजन राईले शुभकामना दिए । कार्यक्रममको सञ्चालन सचिव सकुन्तला पोखरेलले गरिन् । परिषद् आज सोमबारसम्म चल्नेछ ।