निम्न वर्गीय जनजीवनको प्रेमका कथा उधिनिएको कवि तथा गीतकार विशाल नाल्बोका शब्दहरुमा सांगीतिक श्रव्यदृश्य तयार गरिएको छ । 

एकजना रिक्सा चालक युवा र सब्जी व्यापारी युवतीको प्रेमजीवनलाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । 

रङ्गकर्ममा सक्रिय कलाकार विष्णु मोक्तानको शीर्ष भूमिका रहेको ‘म्युजिक भिडियो’ मा स्थानीयस्तरमा रङ्गकर्ममा समर्पित कलाकारले अभिनयमार्फत् जीवन्तता दिने प्रयत्न गरेका छन् ।  

‘दिन बिताउँछु रिक्सा कुदाउँछु’ बोलको गीतमा कलाकार विष्णु मोक्तानले रिक्सावाल युवाको भूमिका निर्वाह गरेका छन् । कलाकार तुलसा थापाले सब्जीवालीको भूमिका लिएकी छन् । भिडियोमा सुजाता राई, अश्विन सुवेदी र सन्देश दाहालको विशेष भूमिका छ ।

‘रिक्सा चालकको प्रेम जीवनलाई केन्द्रमा राखेर लेखिएको गीत हो यो, यस गीतमा एकजना रिक्सावालाको प्रेमजीवनलाई देखाउने कोशिस गरिएको छ ।’ गीतकार नाल्बोले भने ।

कालिम्पोङ निवासी कवि तथा गीतकार नाल्बोका शब्दमा रहेको गीतलाई कुमार प्रधान ‘कल्पित’ तथा प्रिया लामा तामाङले आवाज दिएका छन् । एरेन्जर सुम समीर, मिक्सिङ, मास्टरिङ तथा रेकडिष्ट कपिल सुनुवार रहेका छन् ।

म्युजिक भिडियोको छायाङ्कन देवराज सिग्देलले गरेका छन् । सम्पादन अनिल राना मगरले गरेका छन् । कुपी क्रिएसनको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोको निर्देशन हरि ईवाहाङ लिम्बूले गरेका हुन् ।

धरानको कृषि बजार, शुभम कृषि फर्म, धरान रङ्गशालालगायतका स्थानमा म्युजिक भिडियोको छायाङ्न गरिएको छ । 

म्युजिक भिडियोलाई तयार गर्न करिब २ लाख रुपैयाँ खर्च भएको प्रोडक्सन म्यानेजर मिलन चाम्लिङ राईले जानकारी दिए । 

द गोर्खाज ट्रोप्स्, एनपि सुम ढुवानी सेवा, चिरन पुमा राई, होटल वाइट डोभलगायतको सहयोगमा तयार भएको म्युजिक भिडियो कुपी क्रिएसनको युट्युब च्यानलमार्फत् सार्वजनिक गर्ने तयारी गरिएको छ ।