काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनतामा राजनीतिक दलका नेता तथा राजनीतिप्रति रहेको वितृष्णा अझै कायम रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेसको १४औँ महाधिवेशनका क्रममा आफूले उठाएको विषय १५औँ महाधिवेशनसम्म आइपुग्दा पनि सान्दर्भिक रहेको बताए।
उनले आमजनतामा नेताप्रति र राजनीतिप्रति रहेको वितृष्णा तथा घृणामा अपेक्षित सुधार हुन नसकेको बताए। १४औँ महाधिवेशनका क्रममा आफूले राजनीतिक नेतृत्वप्रति जनतामा बढ्दै गएको असन्तुष्टिबारे बोलेको स्मरण गर्दै उनले त्यसबेला आफूले राखेको धारणालाई तत्कालीन प्रमुख राजनीतिक नेताहरूले सकारात्मक रूपमा नलिएको उल्लेख गरे।
“मैले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनका क्रममा जे बोलेको थिएँ, आमजनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन,” उनले भने। अध्यक्ष लिङ्देनले व्यक्तिमा परिवर्तन आए पनि देशको अवस्था भने अपेक्षाअनुसार परिवर्तन हुन नसकेको बताए। देश र जनताको हितका लागि आवश्यक परे संविधानसमेत परिवर्तन गर्नुपर्ने धारणा उनले व्यक्त गरे।
यसैगरी, जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले प्राकृतिक विपद्का कारण जनजीवन अस्तव्यस्त हुनुका साथै अर्थतन्त्रसमेत प्रभावित भएको विषम परिस्थितिमा सबै जिम्मेवार राजनीतिक दलबीच एकता, संवाद, सहयोग र सहकार्य आवश्यक रहेको बताए।
उनले नेपाली कांग्रेसले नेपालको राजनीतिक इतिहासमा लामो र महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन, विभिन्न राजनीतिक परिवर्तन, जनआन्दोलन तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्ने संविधान निर्माण प्रक्रियामा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताए।
“नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन, विभिन्न राजनीतिक परिवर्तन, जनआन्दोलन तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्ने संविधान २०७२ को निर्माण प्रक्रियामा कांग्रेसले खेलेको निर्णायक तथा नेतृत्वदायी भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ,” भण्डारीले भने।
देशमा आर्थिक संकट, बढ्दो बेरोजगारी, युवाको विदेश पलायन, उत्पादनमा आएको कमी, सामाजिक असमानता तथा नागरिकमा बढ्दै गएको निराशाजस्ता चुनौती कायमै रहेको उल्लेख गर्दै उनले ती समस्याको समाधानका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए। रासस

































