धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ९ मुलघाटमा रहेको विश्रान्ती वृद्धाश्रममा रहेका ४० जना बृद्धबृद्धाहरुलाई बिहिबार एन्टिजेण्ट परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको छ । 

बृद्धाश्रममा बस्दै आएका एक जना जेष्ठ नागरिक विरामी परेपछि उपचारको लागी अस्पताल लाने क्रममा संक्रमण देखिएसंगै त्यहाँ रहेका अन्य बृद्धबृद्धाहरुको एन्टिजेण्ट परिक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो ।

धनकुटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भोजराज भण्डारीले बृद्धबृद्धाहरुको एन्टिजेन परिक्षण गर्दा ३ जनामा संक्रमण देखिएको जानकारी दिएका छन् । भण्डारीले विश्रान्ती वृद्धाश्रममा रहेका मध्ये १७ जना पुरुष र २३ जना महिला गरी जम्मा ४० जनाको एन्टिजेन किट परिक्षण गर्दा १ पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको बताएका छन् । 

यसैक्रममा केही दिन अघि बृद्धाश्रममा बस्दै आएका एक जना बृद्धाको मृत्यु समेत भैसकेको छ । धनकुटाको पाख्रीबासबाट ल्याइएका ठेगाना नखुलेका अन्दाजी वर्ष ७० का काली माया राईको मृत्यु भएको विश्रान्ती मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले बताए ।

उनी लामो समय देखी विरामी रहेको घिमिरेले बताएका छन् । उनको एण्टिजेन परिक्षण नगरिएको र उनको कोरोनाको कारण नभै अन्य कारणले मृत्यु भएको हुन सक्ने घिमिरेले अनुमान लगाएका छन् । उनले अर्का एक वृद्ध पनि विरामी परेपछि अस्पताल लाँदा कोरोनो पोजेटिम देखिएको र कोभिड अस्पताल विराटनगरमा उपचार भैरहेको बताए ।

हाल कोभिड पोजेटिभ देखिएका ३ जना मध्ये १ जना वृद्धवृद्धालाई खाना पकाउने भान्से र २ जना स्वयमसेवक रहेको सचिव घिमिरेले ब्लाष्टलाई जानकारी दिए । कोभिडको महामारी केही कम भएपनि धनकुटामा पुर्णरुपमा हटिनसकेकाले विश्रान्तीमा रहेका जेष्ठ नागरिक वा बृद्धबृद्धाहरुसंग प्रत्यक्ष भेटघाट कार्यक्रम बन्द गरिएको बताए ।

बृद्धबृद्धाहरुलाई सहयोग गर्न इच्छा भएका दाताहरुले अप्रतक्ष्य रुपमा भने स्वयमसेवकहरु मार्फत सहयोग गर्न सक्ने गरी विश्रान्ती मन्दिर व्यवस्थापन समितिले व्यवस्था मिलाएको घिमिरेले स्पष्ट पारेका छन् । उता धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाले कोभिड महामारी नियन्त्रणमा आई नसकेकाले बृद्धबृद्धाहरु स्वयम दिर्घरोगी हुने भएकाले स्वास्थ्य मापदण्ड अपनाउँदै गम्भिर भैदिन मन्दिर व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।