धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं महाधिवेशनको क्रममा बहुल जातीय र बहुराज्यको अवधारणालाई अगाडि सारेको छ ।
पहिचानको राजनीति गर्दै आएको पार्टीले राजनीतिक दस्तावेज प्रस्तुत गर्ने क्रममा बहुल जातीय र बहुराज्यको अवधारणालाई अगाडि सारेको हो । धरानमा शनिबारदेखि पार्टीको महाधिवेशन जारी छ । आइतबार जारी बन्दसत्रमा पार्टीको राजनीतिक दस्तावेज र विधानमाथि गम्भीर छलफल भइरहेको पार्टीका महासचिव केशव सूर्यवंशीले जानकारी दिए ।
राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष एवम् संरक्षक एमएस थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न बन्दसत्रमा पार्टीको सङ्घीय परिषद्बाट प्रस्तुत गरिने ८० पृष्ठ लामो राजनीतिक दस्तावेज पार्टीका उप–महासचिव टोप अस्लामीले प्रस्तुत गरेका थिए । त्यसैगरी जारी बन्दसत्रमा सङ्घीय परिषद्बाट प्रस्तुत गरिने पार्टीको विधान छैठौं संशोधनसम्बन्धी प्रस्तावहरू पार्टीका उप–महासचिव रामु परियारले छलफलका लागि प्रस्तुत गरेका थिए ।
जारी बन्दसत्रमा पार्टी उप–महासचिव टोप अस्लामी मगरले राष्ट्रिय जनमुक्ति पार्टीको सङ्घीय परिषद्बाट पारित ८० पृष्ठ लामो राजनीतिक दस्तावेजमाथि देशभरका करिब ४ सय ५० भन्दा बढी प्रतिनिधिहरूले गम्भीर भएर बहस तथा छलफल गरिरहेका छन् । जारी दस्तावेजमा राष्ट्रिय जनमुक्ति पार्टीको स्थापनाकालदेखि छैठौं महाधिवेशनसम्मको राजनीतिक गतिविधिलाई समेटिएको छ ।
दस्तावेजमा नेपालमा राष्ट्रिय जनमुक्ति पार्टी जन्मनुका आधारहरू प्रस्तुत गरिएको छ । जसमा बहुजातीय र बहुराज्यसहित पहिचानको आधार हुनु पर्नेमा जोड दिइएको छ । त्यसैगरी नेपालको अर्थनीतिमा नेपालको पुनःसंरचनापछि समृद्ध नेपाल र भ्रष्टाचार उन्मूलनजस्ता विषय वस्तुलाई बढी जोड दिइएको छ ।
त्यसैगरी वर्तमान अवस्थामा पार्टीको अन्तर्राष्ट्रिय रणनीतिमा एमसीसीलगायत विभिन्न समय र कालखण्डमा भएका सन्धि सम्झौताहरू सबै खारेज हुनुपर्नेमा जोड दिइएको छ । पार्टी उप–महासचिवले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा पार्टीको तत्कालीन कार्यनीति, भाबी कार्य दिशा र राजनीतिक मार्गचित्रमाथि प्रतिनिधिहरूले गम्भीर बहस तथा छलफल गरिरहेका छन् । छलफलमा पार्टीका युवापुस्ताले बढीभन्दा बढी चासो राखेको पाइएको छ ।
त्यसैगरी पार्टीका अर्का उप–महासचिव रामु परियारले प्रस्तुत गरेको विधान मस्यौदामा महिलालाई ५० प्रतिशत पुरुषसरह समान अधिकारको ग्यारेण्टी गरिएको बताइएको छ । साथै पार्टी आचरणमा सत्ताको भोगी नभई, पार्टीको व्यवस्थापकीय पक्षलाई नयाँ शिराबाट परिवर्तन गरेर लाने विषयमा गम्भीर छलफल भइरहेको महासचिव सूर्यवंशीले बताएका छन् ।
बन्दसत्रमा पार्टीका सङ्घीय अध्यक्ष केपी पालुङ्वा, पार्टीका वरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फे, उपाध्यक्षत्रय कमला थापा, मीना पन्धाक लिम्बू, रविन्द्र उच्च नेपालीलगायतको उपस्थिति रहेको छ । बन्दसत्रको सञ्चालन पार्टी सचिव बलदीप राई (प्रभाश्वर) ले गरेका थिए । महाधिवेशनको तेस्रो दिन आज (सोमबार) जारी बन्दसत्रले पार्टीको आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।