धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टीको संस्थापक अध्यक्ष मालवरसिंह (एमएस) थापाले पार्टीले सत्ता प्राप्तिका लागि राजनीति नभई राज्य व्यवस्था परिवर्तन गर्नका लागि आन्दोलित बन्दै आएको दाबी गरेका छन् ।

धरानस्थित गीता भवनमा पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने क्रममा थापाले सत्तासँगको लडाइँभन्दा पनि मुलुकमा बहुल राष्ट्रिय समाजवाद स्थापनाका लागि लडाइँ रहेको बताए । उनले राज्य व्यवस्थामा परिवर्तन ल्याउनेतर्फ निरन्तर अघि बढेको बताए । उनले पार्टीको नीति, विचार र सिद्धान्तलाई स्थापित गर्नका लागि वर्षौंदेखि बहुजातीय लोकतान्त्रिक समाजवादलाई पार्टीभित्र अभ्यास गर्दै आएको बताए ।

थापाले हरेक जातिको जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई राज्य व्यवस्थामा स्थापित नगराएसम्म मुलुकमा समावेशी विकास नहुने ठोकुवा गरे ।

त्यस्तै अर्का संस्थापक नेता रामबहादुर तुम्बाहाम्फेले वर्तमान सरकारले एमसीसीजस्तो घातक परियोजना भित्र्याउन लागेको भन्दै पार्टी यस मुद्दामा गम्भीर हुनुपर्ने तर्क गरे । एमसीसीविरुद्ध पार्टीले देशव्यापी रूपमा विरोधसभा आयोजना गरेर जनतालाई सचेत गराउनुपर्ने बताए ।

पार्टीका अध्यक्ष केपी पालुङ्वाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष कमला थापा, रविन्द्र उच्च नेपाली, केन्द्रीय सचिव मनीराम चौंलागाईं, सामाजिक लोकतान्त्रिक पार्टी परित्याग गरी जनमुक्तिमा प्रवेश गरेका नेता मानबहादुर राई, माओवादीबाट प्रवेश गरेका मजित अली, सङ्घीय लिम्बुवानबाट प्रवेश गरेका गजेन्द्र आङ्वो, विदेशस्थित पार्टीका प्रमुख एवम् प्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका ४ सय ५० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । आज (आइतबार) देखि बन्दसत्र हुनेछ । बन्द सत्रमा अध्यक्ष पालुङ्वाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।