धरान उपमहानगरपालिका कार्यसमिति चयनका लागि श्याम पोखरेलको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत धरान उपमहानगर कार्य समिति चयनका लागि पोखरेल समूहले उम्मेदवार घोषणा गरेको हो । यही असोज ९ गते हुने नगर समिति चयनका लागि मिति तय गरिएको छ । 

समितिका सभापतिको  रूपमा  धरान उपमहानगर कमिटी वर्तमान  सचिव पोखरेलको उमेदवारी दिएका हुन् । त्यस्तै, उपसभापतिमा धरान–१८ का वडाध्यक्ष  प्रवीण राई र धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूको उमेदवारी घोषणा भएको छ  । 

सचिवमा हिमाल श्रेष्ठ र जितेन राई, सहसचिवमा शिला बज्राचार्य र युनेश मगरलाई उम्मेदवारको समितिको  निर्वाचित कमिटीले मनोनीत गर्ने कोषाध्यक्षको रूपमा पञ्चकला राईलाई अघि सारिएको छ  ।  

सांसद चन्द्रप्रसाद श्रेष्ठ, सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ, महाधिवेशन प्रतिनिधि पर्वत राई, माधव घिसिङ, सुनसरी १ नम्बर क्षेत्रीय सभापती सुरेशमान श्रेष्ठ लगायतको उपस्थिति भएको उम्मेदवार घोषणा कार्यक्रममा धरानका नगर प्रमुखसमेत रहेका  वर्तमान नगर सभापति तिलक राईले उमेदवारहरूको नाम घोषणा गरेका थिए । 

नाम घाेषणाका क्रममा  सभापति  राईले आफूहरू कुनै गुटगत नभई  प्रतिस्पर्धाका लागी सामूहिक उमेदवारी दिएकाे बताएका थिए । तर धरानमा उनिहरूकाे समुहलाई  काङ्ग्रेस केन्द्रीय संस्थापना (सभापति शेरबहादुर देउवा)  इतर समुहका रूपमा चिनिन्छन् । 

उम्मेदवार घोषणापछि पोखरेलले पार्टीलाई गुटरहित बनाउने भन्दै सबै तह चलायमान बनाउने र विकास निर्माणको कामलाई केन्द्रीय नेतृत्वसँग जोडेर तीव्रता दिने र समृद्ध धरान बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए  ।