नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१–२०३९) प्रजातन्त्र, मानव अधिकार र समाजवादी आन्दोलनका अग्रगण्य नेता हुन् । दोस्रो विश्वयुद्धले ल्याएको परिवर्तनको प्रभाव नेपालमा भित्र्याउने नेता कोइराला दूरदर्शी तथा ठोस कार्यदिशा निर्माण गर्ने राजनीतिज्ञ हुन् । कोइराला नेपाली सन्दर्भमा मात्र नभई अन्तर्राष्ट्रिय परिवर्तनका सन्दर्भमा पनि प्रभावकारी बन्न पुगेका देखिन्छन् । कोइरालाको जन्म १९७१ भाद्र २४ गते बनारसमा भएको थियो भने बाल्यकाल पनि बनारसमै बितेको थियो । नगरपालिकाबाट सञ्चालित स्कुलमा पढ्दा पढ्दै सन् १९२१ तिर महात्मा गान्धीको आह्वानमा आठ वर्षका बालक कोइरालाले सरकारी स्कुलबाट नाम कटाउने र राष्ट्रिय स्कुलमा नाम लेखाउने अभियानमा आफूलाई समाहित गरेका थिए ।

बालकको यस्तो निर्णय क्षमताबाट प्रभावित भएर गान्धीजीको निर्देशनमा जवाहरलाल नेहरूले फूलमाला लगाइदिएको घटना अभिप्रेरक रहेको देखिन्छ । त्यसपछि गान्धी आश्रममा सञ्चालित स्कुलमा पढ्न लाग्दा आचार्य कृपालानीसँग भेट भएको थियो । यसैगरी बाल्यकालमा पारिवारिक जमघटमा बौद्धिक छलफल हुने गरेको र त्यसबाट बालक कोइरालाका मनमा जिज्ञासा थपिँदै गएका कुराहरू पृष्ठभूमिका रूपमा विकसित भएका देखिन्छन् । विशेषगरी भारतीय स्वतन्त्रता आन्दोलनमा महात्मा गान्धीको नेतृत्वबाट प्रभावित भएका कोइरालालाई आफ्नै पिता कृष्णप्रसाद कोइरालाले मार्गदर्शन गराएका थिए ।

कृष्णप्रसाद कोइरालाका नेतृत्वमा निर्वासित ४५ जनाको पारिवारिक समूहमा मनमोहन अधिकारीका पिता रामचन्द्र अधिकारी, दमननाथका पिता केदारनाथ ढुङ्गाना, बुद्धिजीवी देवीप्रसाद सापकोटा, प्रजा परिषद्का नेता चूडाप्रसाद आदि थिए । तिनीहरूमा रामचन्द्र अधिकारीको विश्लेषण क्षमता धेरै रमाइलो लाग्दथ्यो कोइरालालाई । अधिकारी अखबारका भित्री मर्मको उद्घाटन गरेर छलफल गर्दथे । बनारसमा निर्वासित रहेका बेला भारतीय स्वतन्त्रता आन्दोलन चलिरहेको थियो । त्यस आन्दोलनमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयमा छलफल हुँदा पिताजी कृष्णप्रसाद कोइरालाले अङ्ग्रेज विरूद्धको आन्दोलनमा लाग्न सबैलाई निर्देशन दिएका थिए । त्यसको कारण खुलाउँदै पिताजीले भनेका थिए, ‘यो आन्दोलन (भारतीय स्वतन्त्रता सङ्ग्राम) हाम्रो पनि हो किनभने जुन राणाहरूको एकतन्त्रीयता छ । त्यसलाई संरक्षित गरेको छ, ब्रिटिश साम्राज्यवादले । त्यसो हुनाले ब्रिटिश साम्राज्य विरुद्धको लडाइँ नेपालीहरूको निम्ति पनि हो ।’

यो महत्वपूर्ण विचारबाट कोइराला प्रशिक्षित बन्दै गएका देखिन्छन् । दशौं कक्षामा पढ्दा पढ्दै उनको सम्पर्क राजनैतिक समूहसँग भयो । त्यही कारण उनी सन् १९३० मा पक्राउ परे । उनलाई बनारसबाट मोतीहारी जेलमा लगियो । जेलमा रहँदा उनले भारतका प्रसिद्ध नेताहरू सम्पूर्णानन्द, स्वामी श्रद्धानन्दहरूसँग सङ्गत गर्ने मौका पाए । जेलबाट छुटेपछि उनी पुनः अध्ययनमा लागे । यसैबीच उनको सम्पर्क भयो केही माक्र्सवादीहरूसँग उनले माक्र्सवादको अध्ययन गरे । माक्र्सवाद, गान्धीवाद, समाजवाद, पुँजीवाद, साम्यवादजस्ता त्यसबेलाका प्रसिद्ध दर्शन र चिन्तनका विषयमा उनले तुलनात्मक अध्ययन गरेर आफ्नो धारणा सुनिश्चित बनाउँदै लगेका थिए । छितपुर भन्ने ठाउँमा डेरा गरी बसेको बेला कोइरालाको सम्पर्क भयो, जयप्रकाश नारायणसँग । जयप्रकाश सोसलिष्ट आन्दोलनका अगुवा थिए । उनैका परिकल्पना र अग्रसरतामा काङ्ग्रेस सोसलिष्ट पार्टीको गठन भएको थियो । यो पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेसको नजिक थियो ।

यसमा माक्र्सवाद र सोसलिष्टवादको अन्तर्घुलन भएको हुँदा नयाँ चेतना विकसित भएको देखिन्छ । गान्धीको नेतृत्वमा भारतमा भइरहेको आन्दोलनले भारतीय युवाहरूलाई मात्र प्रभावित नपारी नेपाली युवाहरूलाई पनि जागृत बनाएको थियो । उतातिर रुसी क्रान्तिले अर्को तरङ्ग उत्पन्न गराएको थियो । विश्वमा सर्वहाराको शासनसत्ता कायम हुन्छ भन्ने विश्वास बढ्दै गएको थियो । टर्कीमा पनि विद्रोह भएको थियो । उतातिर चीनमा पनि हलचल उत्पन्न भएको हुँदा चेतनशील युवा समुदाय आ–आफ्ना राष्ट्रका विषयमा संवेदनशील हुँदै परिवर्तनका लागि विद्रोह गर्न इच्छुक देखिन्थे । नेपालमा २००७ सालमा आएको परिवर्तन त्यसैको परिणाम हो र त्यसको नेतृत्व बीपीले नै गरेका थिए । अतः राणा शासनको अन्त्य गरी बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्न बीपीको अतुलनीय योगदान  छ । आजको नेपाली सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली त्यसैको विकसित र परिवर्तित रूप हो । नेपाली जनतालाई शक्ति सम्पन्न बनाई मुलुकको सर्वाङ्गीण विकास गर्ने बीपीको परिकल्पना यसबेला मात्र साकार बन्दै गएको छ । अतः बीपी कोइराला नेपाली राजनीतिका बहुआयामिक र दूरदर्शी नेता हुन् । बहुमुखी प्रतिभा भएका बीपीलाई प्रजातान्त्रिक इतिहासका चम्किला ध्रुवतारासँग तुलना गर्न सकिन्छ ।

यिनै राजनैतिक घटनाको सेरोफेरोमा कोइरालाको दृष्टिकोण फराकिलो बन्दै गएको देखिन्छ । कोइरालालाई सानैदेखि साहित्यमा अभिरुचि थियो । बनारसको साहित्यिक वातावरणमा कोइरालाले प्रसिद्ध लेखक शान्तिप्रिय द्विवेदीसँग मित्रता गाँसेका हुँदा द्विवेदीले मैथिली शरण गुप्त, जयशङ्कर प्रसाद, विनोदशङ्कर व्यासजस्ता लेखकहरूसँग चिनाजानी गराइदिएका थिए । त्यसबेला प्रेमचन्दका सम्पादनमा ‘हंस’ भन्ने पत्रिका प्रकाशित हुन्थ्यो । शान्तिप्रिय द्विवेदीले कोइरालालाई पनि ‘हंस’ मा रचना प्रकाशित गर्न सहयोग र प्रोत्साहित गरेका हुँदा कोइरालाको ‘अतिथि’ शीर्षकको कथा सर्वप्रथम त्यही पत्रिकामा प्रकाशित भएको देखिन्छ । नेपालीभाषी कोइराला हिन्दी साहित्यको परिवेशमा आफूलाई अगाडि बढाउँदै गएका थिए । उनमा हिन्दी साहित्यका प्रेमचन्द, जयशङ्कर प्रसाद, मैथिलीशरण गुप्तहरूको प्रभाव देखिन्छ भने उनलाई फ्रान्सेली लेखक भिक्टर ह्युगोले अझ प्रभाव पारेका थिए । कोइरालालाई विश्वस्तरका चिन्तकहरूले समेत प्रभावित पारेको देखिन्छ । उनलाई प्रसिद्ध मनोवैज्ञानिक चिन्तक सिग्मण्ड फ्रायड, फ्रान्सेली दार्शनिक रूसो, दार्शनिक हिप्पोलाइट टेनले समेत आकर्षित गरेका थिए ।

राजनीतिमा उनी समाजवादबाट आकृष्ट देखिन्छन् भने साहित्यमा स्वतन्त्र लेखनका पक्षपाती रहेका छन् । उनको साहित्यिक मान्यता छ–‘साहित्यमा म अराजकतावादी हुँ ।’ उनको यो भनाइ निकै अर्थपूर्ण देखिन्छ । उनले वि.सं. १९९२ मा ‘चन्द्रवदन’ कथा लेखेर नेपाली साहित्यमा प्रवेश गरेका हुन् । यस कथालाई हेर्दा कोइरालाको कथा लेखनले नयाँ क्षेत्रको निर्माण गरेको देखिन्छ । नेपाली कथामा मैनालीले सामाजिक यथार्थवादी धारालाई भित्र्याए भने कोइरालाले मनोवैज्ञानिक धाराको प्रवर्तन गरे अर्थात् नेपाली कथाका फाँटमा बी.पी.कोइराला प्रथम मनोवैज्ञानिक कथाकार बन्न पुगेका देखिन्छन् । उनका समकालीन अन्य कथाकारहरूमा रूपनारायण सिंह, भवानी भिक्षु, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा आदिले पनि मनोवैज्ञानिक कथाको क्षेत्रलाई मलजल पु¥याएका थिए भने कोइरालाले ती सबैसँग सहकार्य गरेका थिए ।

कोइराला अत्यन्तै अध्ययनशील तथा मानवीय समस्याका विश्लेषक देखिन्छन् । उनले थुप्रै विश्वस्तरीय पुस्तक र दर्शनको अध्ययन गरेका थिए । मानिसका वाह्य र आन्तरिक चेतनाको सूक्ष्म अध्ययन गर्न सक्ने कोइराला असाधारण स्मरण शक्ति भएका लेखक हुन् । उनले आफ्नो जीवनको विगतलाई सूक्ष्मातिसूक्ष्म रूपले आत्मवृत्तान्तमा प्रकट गरेका छन् । त्यहाँ आएका नाम, नामेसी, घटनाक्रम, तिथिमिति आदि सबै उनले सम्झँदै भनेका हुन् । कुनै प्रकारको टिपोट, डायरी तथा अरूको सहयोग नलिई टिपाएको कुरा सम्पादक गणेशराज शर्माले उल्लेख गरेका हुँदा बी.पी.को स्मरण शक्ति इन्साइक्लोपिडिया जत्तिकै रहेको बुझिन्छ । पुराना सानातिना घटनासमेत नबिर्सी उनले लेखाएको पाइन्छ । बीपीमा असाधारण लेखनशक्ति पनि थियो । बीपीले लेखेका कृतिहरू हेर्दा पनि थाहा पाइन्छ, उनले ‘दोषी चस्मा, तीनघुम्ती, सुम्निमा, नरेन्द्र दाइ, हिटलर र यहुदी, बाबुआमा र छोरा, मोदिआइन्, श्वेत–भैरवी, जेल जर्नल, बी.पी.कोइरालाको डायरी आत्मवृत्तान्त लगायतका कृतिहरू लेखेका छन् भने राजनैतिक दस्तावेज, राजनैतिक लेखलगायत अनेकौं वैचारिक लेखहरू समेत लेख्न भ्याएको देखिन्छ ।

फरक विचार, फरक विधा र फरक क्षेत्रका ती कृतिमा कुनै किसिमको विचलन छैन । विधा अनुसारका कुरालाई ती ती क्षेत्रकै पदावली र पारिभाषिक शब्दको प्रयोग गरी बीपीले असाधारण प्रतिभाको परिचय दिएका छन् । कथा, उपन्यास निबन्धमा समेत आवश्यक चरित्रको संयोजन गरेका छन् । पात्रहरूको पृष्ठभूमि अनुसारको भाषा, शैली, घटनाक्रम, समस्याको सामाजिक र मनोवैज्ञानिक चित्रण गर्न बी.पी.सक्षम देखिएका छन् । अत्यन्तै अलौकिक प्रतिभा सम्पन्न नभई ती कुरामा सन्तुलन ल्याउन सकिँदैन । त्यसो हुँदा बी.पी.लाई यस युगका एक महान् लेखक र चिन्तक मानिएको हो । विश्वप्रद्धि लेखकहरू टाल्सराय, भिक्टर ह्यूगो, प्रेमचन्द, माक्र्स, गोर्की, मोपाँसाहरू सरह बी.पी.लाई लिन सकिन्छ । हजारौं कार्यकर्तालाई प्रशिक्षित गराई मुलुकको राजनीतिमा अग्रसर गराउन सक्ने वाणीमा असाधारण शक्ति भएका बीपी महात्मा गान्धी र माओत्सेतुङ जत्तिकै जनप्रिय र त्यागी नेता हुन् ।

राष्ट्रका लागि जतिसुकै कठोर सङ्घर्ष गर्नु परे पनि पछि नहट्ने दूरदर्शी दृष्टिकोण भएका बी.पी. २०३३ साल पौष १६ गते भारतबाट स्वदेश फर्केका थिए । त्यसबेला उनलाई यहाँ अनेकौं राजकाजी मुद्दा लगाइएका थिए । दण्ड, जरिबाना र जेलको समेत परवाह नगरी स्वदेश फर्केका बी.पी.ले एकैपटक नेपालका शासक राजा वीरेन्द्र र भारतीय शासक इन्दिरा गान्धीको आज्ञासमेत अवज्ञा गरेका थिए । उनको स्वदेश प्रत्यागमनलाई नेपाली क्रान्तिको उत्कर्ष मानिन्छ भने नेपाली राष्ट्रियताप्रतिको साहसी समर्पण मानिन्छ । देशभरिका लाखौं प्रजातन्त्रप्रेमीहरूलाई ऊर्जा प्रदान गर्ने त्यस घटनाले संसारभरि नै तरङ्ग सिर्जना गरेको थियो । २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा गर्ने राजा वीरेन्द्रको निर्णय बीपीकै दबावमा भएको हो । यसरी जीवनभरि सङ्घर्ष गर्दागर्दै २०३९ श्रावण ६ गते बीपीको स्वर्गबास भयो । बीपीले जनमत सङ्ग्रहको परिणामलाई स्वीकार गरी संसारकै लागि प्रजातान्त्रिक चरित्रको उदाहरण दिएका थिए ।

यसरी एक महान् प्रजातन्त्रवादी नेता, नेपाली प्रथम जननिर्वाचित प्रधानमन्त्री, अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका अगुवा, प्रथम नेपाली मनोवैज्ञानिक कथाकार, सफल उपन्यासकार, निबन्धकार, नयाँ वैचारिक चिन्तन र कार्यदिशा दिन सक्ने बी.पी.कोइराला नेपाल आमाका सच्चा सपुत हुन् । १०८ औं जन्मजयन्तीका पुनीत अवसरमा बीपीलाई हार्दिक श्रद्धाञ्जली ।
सन्दर्भ सामग्रीः आत्मवृतान्त, वि.प्र.कोइराला, जगदम्बा प्रकाशन, २०५५
२०७८ भाद्र २४ गते, धरान–१३, सुनसरी