धरान । नेवार समुदायको परम्परागत बाजा धाः बाजाको धरानमा तालिम दिइएको छ । कार्यक्रम संयोजक अमृत श्रेष्ठ आचार्जूका अनुसार जेठ २५ गतेबाट २१ दिने प्रशिक्षण कार्यक्रम गरिएको हो ।

नेवारी परम्परागत बाजा तथा संस्कृति लोप हुन नदिने उद्देश्यले पासा खल धरानले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ७० जना युवायुवतीहरू सहभागी भएको संयोजक आचार्जूले जानकारी दिए । कार्यक्रमको समापन शनिबार धरान–७ स्थित सिद्धि नेवाः परिषद्को परिसरमा गरिएको छ । मुख्य प्रशिक्षक काठमाडौँका नितिक डङ्गोल रहेका थिए । धरान–३ स्थित गल्ली टोलमा धाः बाजा बजाउने चलन रहेको थियो । पुरानो पुस्ताले बजाउने भए पनि नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप भएको अध्यक्ष आयुश शाक्यले जानकारी दिए ।

“पुस्तान्तरण गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो” संयोजक आचार्जूले भने, “उहिले उहिले गल्ली टोलमा पुराना पुस्ताले बजाउनुहुन्थ्यो । उहाँहरूबाट पुस्ता हस्तान्तरण भएन ।” धाः बाजा नेवारी समुदायको प्राचीन बाजा मानिन्छ । यसको सम्बन्ध बुद्धकालबाटै सुरुवात भएको मानिन्छ । यो बाजा बजाउँदा विशेषगरी शान्ति तथा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको छ ।

समापन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशकी सांसद् यशोदा कायस्थ रहेकी थिइन् । उनले नेवारी संस्कृति धनी भए पनि पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताइन् । यस्ता कार्यक्रमले नयाँ पुस्तामा जागरुकता ल्याउने उनले बताइन् । कार्यक्रममा नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष अनिल मास्के, धरान–३ का अध्यक्ष विद्या शाक्य, कार्यपालिका सदस्य अनुप देवानलगायत सहभागी थिए ।