धरान :  प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच  घम्साघम्सीकाे स्थिति उत्पन्न भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसदको नवौं अधिवेशन प्रारम्भ भएको पहिलो दिन नै प्रतिनिधिसभा बैठकमा नाराबाजीमा उत्रिएको छ भने सभामुख अग्नि सापकोटाले पेलेरै अघि बढ्ने रणनीति अपनाएका छन्। 

एमालेले बुधबार प्रतिनिधिसभा बैठकमा नाराबाजीसहित रोष्टम घेराउ गरेको छ। नाराबाजीबीच सरकारले संसदमा अध्यादेश टेबल गरेको छ।

सभामुख सापकोटाले बुधबार तीन वटा बैठक सञ्चालन गरेका थिए। पहिलो बैठक एमालेको नाराबाजीपछि सभामुखले रोकेका थिए। तर, दोस्रो बैठकमा उनले नाराबाजीबीच मौन धारण कार्यक्रम र प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरुको नाम पढेर सुनाएका थिए। एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले दोस्रो बैठक २० मिनेट सञ्चालन गरेका थिए।

तेस्रो बैठकमा भने उनले नाराबाजीबीच गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गर्न समय दिए। प्रतिपक्षी सांसदहरूले रोक्ने प्रयास गरे पनि मर्यादापालकको सहयोगमा खाँण रोष्टम पुगेर अध्यादेश टेबल गरे। प्रतिनिधि सभा बैठकमा केहिबेर घम्साघम्सीको स्थिति पैदा भयो।