इनरुवा /सुनसरीका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन । 

सरकारले ल्याएको दल बिभाजन सम्बन्धि अध्यादेश अनुसार उनीहरुले नेकपा एकीकृत समाजवादी रोजेका हुन । एकीकृत समाजवादी रोज्नेमा इनरुवा, बराहक्षेत्र, इटहरी र धरानबाट निर्वाचित जनप्रतिनिधिहरु रहेका छन । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीले ६ जनाले सनाखत गरी नेकपा एकीकृत समाजवादी रोजेको जानकारी दिएपनि उनीहरुको नाम र पद भने खुलाएको छैन । जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले दल रोज्न दिइएको समय सीमा भित्र ६ जनाले कार्यालयमा उपस्थित भई सनाखत गरी दल रोजेको बताए । पौडेलले खामबन्दी सनाखत निर्वाचन आयोगमा पठाइने जानकारी दिए । 

नेकपा एकीकृत समाजवादी रोज्नेमा चार जना वडा सदस्य र दुई कार्यपालिका सदस्य रहेको बुझिएको छ । 

एकीकृत समाजवादी निकट नेताबाट प्राप्त जानकारी अनुसार सुनसरीमा नेकपा एमाले त्यागी माधव नेपाल नेतृत्वको दल रोज्नेमा इटहरी र धरानका एक–एक जना कार्यपालिका सदस्य रहेका छन् । वडा सदस्य तर्फका चार जनामा इनरुवा र इटहरीका एक–एक जना र बराहक्षेत्रका दुई जना रहेका छन ।

वडा सदस्य तर्फ इनरुवा ६ का राजेश दाहालकोे सनाखत गर्दै गरेको तस्विर भने हिजोनै सार्वजनिक भएको थियो । स्वयं दाहालले स्वेच्छाले आफुले एकीकृत समाजवादी रोजेको बताएका छन ।

सरकार दल बिभाजन सम्बन्धि अध्यादेश ल्याएपछि नेकपा एमाले बिभाजन भएर नेकपा एकीकृत समाजवादी बनेको थियो भने जसपाबाट अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । 

सोही अनुरुप जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गते सम्मको समय सीमा दिइएको थियो । सुनसरीमा जनता समाजवादी पार्टीबाट भने कोही पनि जनप्रतिनिधि निर्वाचित थिएनन ।