धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा ठप्प पारेको विषयमा गम्भीर आपत्ति प्रकट गरेको छ ।
स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रलाई ठप्प पार्ने कार्य निकृष्ट रहेको मञ्चले जनाएको छ । बीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षले आइतबारदेखि आकस्मिक, कोभिड र निर्धारित भएको परीक्षाबाहेकका सबै सेवा ठप्प पारेका छन् । उक्त कार्यलाई लिएर मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले सेवा ठप्प पारेको विषय तत्काल फिर्ता लिई वातावरण सहज बनाउन माग गरेको छ ।
मञ्चले नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको सन्दर्भ रहेकाले पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै प्रतिष्ठानका प्रमुख पदाधिकारीकहाँ लागेको तालाबन्दी पनि खोलेर सहज रूपमा काम गर्ने वातावरण तयार गर्न मञ्चका धरान नगर अध्यक्ष सञ्जुहाङ साँवाले आग्रह गरेका छन् । बीपी शुद्धीकरणको नाममा भइरहेको आन्दोलन अविलम्ब फिर्ता गर्न माग गरेको छ ।
नेपाल सरकारको उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार दोषी उपर अविलम्ब कानूनी कारबाही गरी आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न आग्रह गरेको छ । बीपीको गरिमा, प्रतिष्ठालाई कायम राख्दै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्ने वातावरण सिर्जना नगर्न आग्रह गरिएको छ ।