बिर्तामोड । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत जारी झापाको वडा अधिवेशनमा ५० बढी वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

जिल्लाका १३१ वडामध्ये ५० वटा वडामा सर्बसम्मत नेतृत्व चयन भएको हो । बाँकी ८१ वटा वडामा आइतबार निर्वाचन हुने कार्यक्रम रहेको छ । शनिबारसम्ममा २५ प्रतिशत क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । 

अहिलेसम्म प्राप्त जानकारी अनुसार झापाको मेचीनगरका ८ वटा वडा, बुद्धशान्तिका–४, बिर्तामोडका ६, अर्जुनधाराका ५, कनकाईका–४, झापाका ७, शिवसतासीका ३, कमलको १, गौरादहको २, गौरीगञ्जको २, भद्रपुरका–३ र बाह्रदशीका ४ वटा वडामा निर्विरोध नेतृत्व नेतृत्व चयन भइसकेको छ ।

क्षेत्र नं–१ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । यसै गरी बुद्धशान्तिको ६ र ७ नं. वडामा पनि सर्वसम्मत रूपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् भने अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं. क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।

यसै गरी झापा क्षेत्र नं. २ को बुद्धशान्ति १ र २ मा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । अर्जुनधारा नगरपालिका–४, ५, ८, १० र ११ मा सर्वसम्मत वडाको नेतृत्व एवं क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएको २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिए । 

उनका अनुसार क्षेत्र नं–२ कै बिर्तामोड नगरपालिकामा १, २, ६, ८ र ९ का सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । यसै गरी कनकाई नगरपालिका–२, ६, ८ र ९ मा पनि निर्विरोध नेतृत्व चयन भएको छ ।

झापा क्षेत्र नं. ४ अन्तर्गत झापा गाउँपालिकाका सातवटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको ४ नं. क्षेत्रीय सभापति जयनारायण साहले जानकारी दिए । उनका अनुसार शिवसतासी नगरपालिका–३, ६ र १० मा पनि निर्विरोध नेतृत्व चयन भइसकेको छ ।