प्रदेश २ मा एमालेबाट निर्वाचित १० जना प्रदेश संसदले माधव कुमार नेतृत्व नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर उनीहरुले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै सनाखत गराएका हुन् ।
एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोज्नेमा गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, खुसिमा खातुन र नागेन्द्र यादव छन् ।
१३ सांसदले सनाखत गराउने भनिए पनि १० जनामात्र सनाखत गरेका छन् । एक नेताका अनुसार अन्य ३ जना जनकपुर भन्दा बाहिर रहेकाले बिहिबार सनाखत हुन नसकेपनि काठमाडाैमा रहेका २ जनाले शुक्रबार सनाखत गर्ने र उपचारका लागि भारतकमा रहेका एक संसदकाे लागि दिल्लीस्थित नेपाली दूतावास मार्फत निर्वाचन आयोगमा उनको सनाखतसम्बन्धी पत्र आउने गरी सुविधा माग गर्दै आयोगमा निवेदन दिइएको छ ।