वैचारिक मतभिन्नता चुलिएको विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा अध्यक्ष रविन्द्र मिश्रको पक्षमा स्पष्ट बहुमत देखिएको छ ।

आज संयोजक मिलन पाण्डेसँगै अध्यक्ष मिश्रले दुई छुट्टाछुट्टै भर्चुअल बैठक डाकेका थिए । मिश्रतर्फ १ सय १ जना केन्द्रीय सदस्यले सहभागिता जनाएका छन् । 

१ सय ३० जना केन्द्रीय सदस्य रहेको केन्द्रीय समितिमा बहुमतका लागि ६६ जना सदस्यको समर्थन आवश्यक पर्छ । 

एकताका क्रममा ६५–६५ केन्द्रीय सदस्य राखेर १३० सदस्य समिति गठन गरिएको थियो । स्पष्ट बहुमत देखिए पनि विवेकशील र साझा मिलेर बनेको पार्टी भने कित्ताकाट भइहालेको छैन । पूर्व विवेकशीलका केही नेता मिश्रको विचारको समर्थनमा छन् भने केही साझाका नेता पाण्डेको समर्थनमा छन् । 

अध्यक्ष मिश्रले राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा गतिरोध उत्पन्न भएको थियो । मिश्रले नेपालमा संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने विचार राखेका छन् । 

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने विषयमा मिश्र र पाण्डेबीच कुरा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको हो । 

गत वर्ष मंसिर २४ तत्कालीन साझा पार्टी र विवेकशील नेपाली दलबीच दोस्रोपटक एकता हुँदै विवेकशील साझा पार्टी बनेको थियो । त्यसअघि २०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो । तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै तत्कालीन अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो ।