धरान । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड बनाएका छन् । 

हालै इंग्लिस प्रिमियर लिगअन्तर्गतको म्यानचेस्टर युनाइटेडमा सरुवा भएर आएका रोनाल्डोले बुधबार रातिको विश्वकप छनोट खेलमा आयरल्याण्डलाई २–१ गोल अन्तरले हराउने क्रममा धेरै गोल गर्न रेकर्ड कायम गरेका हुन् । यसअगि इरानका अली दाइको नाममा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड रहेको थियो । उनले अन्तर्राष्ट्रिय खेलमा १०९ गोल गरेका छन् । भर्खरै सम्पन्न युरो च्याम्पियनसिपमा रोनाल्डोले अली दाइसँग बराबरी गर्न सफल बनेका थिए । 

सन् २००३ देखि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका रोनाल्डोले पहिलो गोल भने सन् २००४ मा मात्रै गर्न सफल भएका भएका थिए । युरोपियन च्याम्पियनसिपको छनोट खेलमा ग्रिसविरुद्ध १ गोल गरेका थिए । त्यसयता उनको गोलयात्रा रोकिएको छैन । अली दाइको रेकर्ड तोड्दै कीर्तिमानी गोल गर्नेमा उनले आफ्नो नाम लेखाएका हुन् । रोनाल्डोले १११ गोल गरेका हुन् ।

आयरल्याण्डमाथि उनले खेलको १५ मिनेटमा पेनाल्टी बल प्रहारको मौका पाएका थिए तर उनी उक्त गोल गर्न चुकेका थिए । यता आयरल्याण्डका जोन इगनले ४५ मिनेटमा गोल गर्दै पोर्चुगललाई दबावमा राख्न सफल भएको थियो तर अन्तिम मिनेटमा रोनाल्डोले दुवै गोल हेडमार्फत गरेका थिए । रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा यो १८० औं खेल हो । इरानका अली दाइले १४९ खेलमा १०९ गोल गरेका छन् । खेल संख्याका आधारमा भने अझै अली दाइ अगाडि छन् । उनले सन् १९९३ देखि २००६ सम्म अन्तर्राष्ट्रिय खेल खेलेका थिए । व्यवसायिक फुटबल भने उनले जर्मन क्लब बायर्न म्युनिख र हेर्था बर्लिनबाट खेलेका थिए । 

रोनाल्डोले आफ्नो खेल जीवनमा ५ वटा बालुन डीओर हात पारेका छन् भने सन् २०१६ मा युरोपियन च्याम्पियनसिप उपाधि हात पारेका छन् । विश्वकप फुटबल उपाधि जित्ने उत्कट अभिलाषा भए पनि त्यो भने पूरा नहुने संकेत देखिँदै गएको छ । किनकि ३६ वर्षीय रोनाल्डोको अब भने खेल जीवन करिब करिब अन्त्यतिर आएको फुटबल पण्डितहरूले विश्लेषण गर्दै आएका छन् । 

१२ वर्षपछि उनी फेरि म्यानचेस्टर युनाइटेडमा फर्किएका उनी २ वर्षका लागि सम्झौता गरेका छन् । रोनाल्डो युरोपियन च्याम्पिसनसिपमा व्यक्तिगततर्फ सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले हालसम्म ११ गोल गरेका छन् । जबकि मिचेल प्लाटिनीको नाममा ९ गोल छ ।