भारतमा कोरोना भाइरसबाट मङ्गलबार थप ४१ हजार ९६५ जना सङ्क्रमित भएका छन् । 

सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ ।  

पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै ३० हजार २०३ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा ११५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कूल तीन करोड १९ लाख ९३ हजार ६४४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३३ हजार ९६४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्याको ९७.५१ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन् ।   

भारतमा अहिलेसम्म कूल सङ्क्रमित तीन करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले बुधबार जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७८ हजार १८१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।  

भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड ३१ लाख ८४ हजार २९३ व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको छ । मङ्गलबार एकै दिनमा १६ लाख छ हजार ७८५ जना कोरोना परिक्षण भएको समाचारमा जनाइएको छ । 

यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड ४१ लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा जनाइएको छ । गत अगस्तभर मात्र १८ करोड तीन लाख डोज कोरोनाविरुद्ध खोप लगाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।