‘न बाजाको धुन, न त भजनको लय, न घिन्ताङ घिसी नाच, न त माक प्याखः’। गाईजात्रामा मनाइने यस्तो रौनक साँस्कृतिक गतिविधि यसवर्षको गाईजात्रामा भक्तपुरमा देख्न पाइएन। कोभिड–१९ को महामारीको जोखिम हटाउने उद्देश्यले भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै गाईजात्रा मनाउन आह्वान गरेपछि आज भक्तपुरमा दिनभरि गाईजात्राको रौनक हेर्न आएका खल्लो मानेर फर्केका छन्। 

प्रत्येक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्वमा यस वर्ष नगरपालिकाले ताहमचालगायत सामान्य परम्परा पूरा गर्न र एउटा समूहमा २० जनाभन्दा बढी सहभागी नहुन आह्वान गरेपनि जात्रामा भीड भने उत्तिकै देखिन्थ्यो। बिहान ५ बजेदेखि नै झमझम परेको पानीको पर्वाह नगरी गाईजात्रा निकालेका यहाँका स्थानीयवासीले एउटा समूहमा २० जना मात्रै सहभागी गराउँदा पनि सयौँ परिवारबाट निस्किएको समूह र जात्रा हेर्न आउनेको समूहका कारण जात्रास्थलमा मानिसको भीड भने लागेको थियो।

जात्रामा धेरैले विगतमा झैँसाँस्कृतिक रौनक बोकेको घिन्ताङ घिसी र अन्य नाच नहुँदा भने जात्रा खल्लो भएको अनुभव गरेका थिए। लाइन्स क्लब अफ नमस्तेका अध्यक्ष रुकेश रञ्जितले जात्रामा भीड देखिए पनि रौनक भने हराएको बताए। मास्क नलगाई जात्रामा सहभागी हुनेलाई दरबार स्क्वायरमा बसेर निःशुल्क तीन हजार मास्क वितरण गर्नुभएका उहाँले जात्रामा सहभागी मध्येकरिब २० प्रतिशतले मास्क नलगाएको बताए। 

नगरपालिकाको आह्वानअनुसार एउटा परिवारले गाईजात्रा निकाल्नेले विगतमा जस्तो सयौँ जना सहभागी नगराई २० जना मात्रै सहभागी गराउँदा पनि जात्रामा भीड धेरै भएको र कोरोनाको जोखिमलाई कम गर्न भने नसकिएको बताए।

जात्रा हेर्न काठमाडौँबाट आएका दिनेश पाण्डेका परिवारले भने भक्तपुरमा विगतमा जस्तो जात्राको रौनक नभएको बताए। जात्रामा घिन्ताङ घिसीसहित अन्य नाच नहुँदा जात्राको रौनक नभएको बताए। गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छभने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन्। साथै मानिसलाई विभिन्न रूपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ। यसवर्ष प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिएनन्।