रोमेलु लुकाकुले एक दशकपछि पुनरागमन गर्दै चेल्सीका लागि गोल गर्दा चेल्सीले प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनललाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा चेल्सीले आर्सनललाई उसैको मैदानमा २–० ले पराजित गरेको हो । २०२१–२२ सिजनमा चेल्सीको यो लगातार दोस्रो जित हो ।

रिस जेम्सले ३५औं मिनेटमा मेसन माउन्टको पासमा चेल्सीका लागि दोस्रो गोल गरे ।

लगातार दोस्रो जितपछि ६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा उक्लेको छ । लिभरपुल, ब्राइटन र टोटनहमको पनि समान ६ अंक नै छ तर चेल्सी गोलअन्तरमा अघि छ ।

आर्सनलले भने लगातार दोस्रो हार बेहोरेको छ । आर्सनल पहिलो खेलमै नवप्रवेशी ब्रेन्टफोर्डसंग पराजित भएको थियो ।

एमिरेट्स स्टेडियममा भएको खेलको १५औं मिनेटमा लुकाकुले रिस जेम्सको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । लुकाकु केही दिनअघि मात्रै चेल्सीमा अनुबन्ध भएका थिए ।