धनकुटा । पाख्रीवास नगरपालिका–५ घोर्लिखर्कस्थित डिकुरे डाँडामा बौद्ध गुम्बा निर्माण हुने भएको छ । 

प्रदेश सरकारको ५० लाख रुपैयाँ र पाख्रीवास नगरपालिकाको २२ लाख गरी जम्मा ७२ लाख रुपैयाँ लगानीमा दुई तले बौद्ध गुम्बा निर्माण हुने पाख्रीवास नगरपालिका कार्यालयले जनाएको छ । गुम्बा बनाइनेबारे शुक्रबार नगरपालिकाले स्थानीय समुदायलाई डिकुरे डाँडामा भेला गरी जानकारी दिएको छ ।

नगर प्रमुख बिर्षबहादुर राईले भने, “घोर्लिखर्कवासी तामाङ दाजुभाइ तथा दिदीबहिनीको भावनालाई सम्मान गर्न र १ सय वर्षभन्दा पुरानो बौद्ध मानेको अस्तित्व बचाई राख्न गुम्बा निर्माण गर्न लागिएको हो ।” प्रमुख राईले आर्थिक वर्ष ०७८÷०७९ को स्वीकृत बजेट तथा कार्यक्रमबाट १ नम्बर प्रदेश सरकारको ५० लाख र पाख्रीवास नगरपालिकाको २२ लाखको संयुक्त लगानीमा गुम्बा बन्न लागेको बताए ।

नगरपालिकाका इञ्जिनियर पर्शुराम श्रेष्ठले निर्माणको चरणमा रहेको गुम्बाको डिजाइनबारे जानकारी गराए । १२ः५० फिट चौडाइ, १७ फिट लम्बाइ र ९ मिटर ७० सेन्टिमिटर उचाइको गुम्बा निर्माण हुने बताए ।