भद्रपुर । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले झापाको मेचीनगरमा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल मेचीनगर कमिटीको आयोजनामा काँकडभिट्टामा भएको प्रदर्शनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश जनघाती रहेको भन्दैं र सरकारी दमनको विरुद्घ देशव्यापी आन्दोलन गर्ने सङ्घको निर्णय अनुसार काँकरभिट्टामा प्रदर्शन गरिएको हो ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा सङ्घले देशभर विरोध गर्ने जनाएको छ ।
'जयसिहं धामीलाई न्याय दे, दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर' लगायतका नारा लेखिएका प्ले कार्डसहित निस्केको र्यालीले काँकडभिट्टा बसपार्क, बाहुनडाँगी रोड, गुरास पथलगायतका मुख्य भागको परिक्रमा गरेको थियो ।
राष्ट्रिय युवा सङ्घ नेपाल स्थायी कमिटी सदस्य अनिता कन्दङ्वाको उपस्थितीमा भएको कार्यक्रमा सङ्घका जिल्ला कमिटी सदस्य एवम् क्षेत्रीय इञ्चार्ज नारायण खनाल, सङ्घका जिल्ला कमिटी सदस्य एवम् नगर इञ्चार्ज सञ्जय मेचे, मेचीनगर अध्यक्ष मानबहादुर तामाङ तथा सङ्घको वडातहका अध्यक्ष र पार्टीका जिल्ला नेताहरुको सभागिता रहेको थियो ।
सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नयाँ पार्टी दर्ता गराएका छन् ।