धरान । मारवाडी महिला मञ्च धरानले भर्चुअल माध्यमबाट दुई दिने हरितालिका तीज कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चकी अध्यक्ष गीता अग्रवालको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी महिला सङ्गठनकी अध्यक्ष निर्मला जोशीको प्रमुख आतिथ्यमा भएको दुई दिने तीज कार्यक्रमअन्तर्गत पहिलो दिन साउन २७ गते मेहन्दी प्रतियोगिता, मारवाडी परिधानमा मारवाडी गीत प्रतियोगिता सम्पन्न भएको छ । आरती अग्रवालको संयोजकत्वमा भएको मेहन्दी प्रतियोगितामा १२ जना सहभागी भएकामध्ये प्रथम निष्ठा दुगड, द्वितीय रसिका अग्रवाल र तृतीय सुधा जालान घोषणा भए । अन्य सहभागी ९ जनालाई पनि प्रमाण–पत्र वितरण गरियो ।

प्रतियोगिताका निर्णायकमा नेपाल राष्ट्रिय मारवाडी महिला सङ्गठनकी संयोजक नीतु सोमानी र धरानकी हर्षिका जैन रहेका थिए । त्यस्तै अनुराधा अग्रवालको संयोजकत्वमा भएको मारवाडी गीत प्रतियोगितामा दश जना सहभागीमध्ये प्रथम नीति अत्री, द्वितीय प्रेम जैन, तृतीय कमलेश साङ्गवानलाई पुरस्कार तथा अन्य सात जनालाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा लावण्या अग्रवाल, अनुराधा अग्रवाल र पूजा अग्रवालले नृत्य प्रस्तुत गरेका थिए । मारवाडी गीत प्रतियोगिताको निर्णायकमा नेपाल राष्ट्रिय मारवाडी सङ्गठनकी सचिव रेणु तोदी तथा काठमाडौँ निवासी रेनु अग्रवाल रहेका थिए । कार्यक्रम जुम एपमार्फत् गरिएको थियो । जुम एपमार्फत् पूजा अग्रवालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

त्यस्तै कार्यक्रमको दोस्रो दिन व्हाट्सएपमा हाउजी तम्बोलाको कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम कविता अग्रवालले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा धरान महिला मञ्चकी निवर्तमान अध्यक्ष अनिता अटललगायत मञ्चका सदस्यहरूको सहभागिता रहेको थियो । मञ्चले विभिन्न अवसरमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको र हालको कोरोना महामारीका कारण वैकल्पिक रूपमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको वर्तमान अध्यक्ष गीता अग्रवालले जानकारी दिइन् ।