जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत एथ्लेटिक्स खेलमा नेपाली खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बहिरिएकी छिन् । 

महिलाको १०० मिटर दौडमा प्रतिस्पर्धामा प्रारम्भिक चरणबाटै बाहिरिएकी उनले निर्धारित दूरी १२ः९१ सेकेण्डमा पूरा गरिन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौँ स्थानमा रहिन् । यस हिटमा नौ खेलाडीले सहभागिता जनाएका थिए ।

सरस्वतीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्न सकिनन् ।

यस प्रतिस्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ । यस्तै यस प्रतिस्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान कायम भएकोे छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२.२० सकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती समाप्त भएको छ ।

टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएकामा कसैले पनि दोस्रो चरण पार गर्न सकेनन् तर सहभागीमध्ये तीन खेलाडीले भने राष्ट्रिय कीर्तिमान कायम गरे । 

पौडीबाज गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियार राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । जुडोकी सोनिया भट्ट भने पहिलो चरणबाटै बाहिरिन् ।