नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् ।

नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ  पदकधारी तथा खेलाडी सम्मानित भएका हुन् । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो ।

सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले नेपाललाई स्वर्णपदक दिलाएका थिए । सन्तोषीले १० हजार मिटर, गोपीचन्द्र्रीले पाँच हजार मिटर र किरणले म्याराथनमा स्वर्ण जितेका थिए ।

महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जितेकी थिइन् । त्यस्तै सोमबहादुर कुमालले आठ सय मिटर, टङक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जितेका थिए ।

कार्यक्रममा स्वर्ण विजेता खेलाडीले जनही रु एक–एक लाख प्राप्त गर्नुभयो । त्यस्तै रजत पदक विजेता खेलाडीले रु ३५ हजार पाउँदा कास्य पकद विजेताले रु २० हजार प्राप्त गरे । पदक विजेता खेलाडीलाई एथलेटिक्स सङ्घका अध्यक्ष राजिवविक्रम शाहलगायतले पुरस्कार प्रदान गरे ।