ललितपुरका चार क्लबले आगामी असोज ३ गतेदेखि गर्ने तय भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग गरेका छन् ।

थ्री स्टार, जावलाखेल युथ, फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले कोरोना संक्रमण दरमा उल्लेखनीय कमी नआएको भन्दै असोज ३ गतेदेखि गर्ने तयारी गरिएको ए डिभिजन लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग माग गरेका हुन् ।

ललितपुरका ए डिभिजन क्लबहरु जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकार र ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुनले संयुक्त रुपमा मंगलबार एन्फामा ज्ञापनपत्र बुझाएका हुन् ।

असोज ३ देखि नै लिग शुरु गर्ने भनेपछि केही क्लबहरुले आन्तरिक रुपमा तयारी पनि थालिसकेका छन् । तर ललितपुरका चार क्लबहरुले असोज ३ गते लिग गर्न उपयुक्त नभएको भन्दै असहमति जनाएपछि एन्फाले तोकेको मितिमा लिग हुनेमा आशंका बढेको छ ।

एन्फा अध्यक्षको विशेष आग्रहमा मार्केटिङका लागि असोज ३ को मिति तय गरेको तर त्यसपछि ए डिभिजन क्लबको बैठक नै नबसी टिम दर्ताका लागि एकपक्षीय रुपमा पत्र पठाइएको भन्दै यथाशीघ्र क्लबको बैठक बोलाउन र लिग उपयुक्त समयमा गर्नका लागि चार क्लबले एन्फामा ज्ञापनपत्र बुझाएका छन् । 

असार १४ गते ए डिभिजन क्लबहरुसँगको बैठकपछि एन्फाले असोज ३ गतेदेखि ए डिभिजन लिग गर्ने निर्णय गर्दै मिति तोकेको थियो । तर त्यसमा लिगको मिति मार्केटिङका लागि तय गर्ने र अन्य विषयहरुमा छिट्टै छलफल गर्ने भनिएकोमा एकपक्षीय रुपमा टिम दर्ताका लागि पत्र पठाइएको भन्दै  ललितपुरका तनर क्लबले असहमति जनाएका हुन् । साथै उनीहरुले पत्रमा ए डिभिजन क्बलहरुको बैठक बोलाउन मा गरेका छन् ।

यस्तै कोरोना महामारीको भयावह स्थितिमा पनि ए डिभिजन लिग आयोजना गर्नु कुनै पनि हालतमा उपयुक्त नभएको ठहर गर्दै चार क्लबले संक्रमण दरमा कमी आएपछि मात्र लगलगायत फुटबल गतिविधि गर्न उपयुक्त हुने जनाएका छन् । 

Lalitpur-4-Club