धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ८ देउरालीमा स्थानीय समुदायको पहलमा हालै निर्माण कार्य सम्पन्न भएको लासा बौद्ध गुम्बाको शनिवार एक औपचारिक समारोहबीच समुद्घाटन गरिएको छ । 

प्रदेश नं. १ का न्याय प्रशासन तथा विधायन समिति सभापति एवं धनकुटाका प्रदेशसभा सदस्य इन्द्रमणी पराजुलीले एक औपचारिक समारोहको बीच लासा गुम्बाको रिबन काटेर समुद्घाटन गरेका हुन् ।

लासा गुम्बाको समुद्घाटन गर्दै प्रमुख अतिथि पराजुलीले जाति, भाषा, धर्म, संस्कार, संस्कृति भनेको राज्यको सम्पति भएको बताए । उनले समुदायको भाषा, संस्कार संस्कृति संरक्षणमा राज्यले कसैलाई पनि काखा र पाखा नगर्ने बताए । 

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा सबैखाले भाषा, भाषी, जातजातिको बसोबास रहेको स्मरण गराउँदै पराजुलीले भने– ‘एकले अर्काको धर्म, संस्कृतिप्रति सम्मान गर्न सके सामाजिक सदभाव, धार्मिक सदभाव कायम हुन सक्छ ।’ 

आगामी दिनमा गुम्बाको भौतिक विकासका लागि स्थानीय जनप्रतिनिधिसँग सरसल्लाह गरेर आवश्यक सहयोग गर्ने पनि पराजुलीले बताए । 

त्यसैगरी गुम्बा समुद्घाटन समारोहका विशेष अतिथि महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपालले तिलौराकोटमा जन्मिएका भगवान बुद्धको शान्तिको सन्देश संसारभर फैलिएको स्मरण गराए । 

उनले बुद्ध भगवानको शान्तिको सन्देशले गर्दा आज विश्वका मानव जातिले शान्ति, अमनचयन, प्रगति, उन्नति गर्न सफल भएको बताए । 

विशेष अतिथि नेपालले महालक्ष्मी नगरपालिकाले वडा नं. ८ को माथिल्लो भागलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना बनाएर अघि बढिरहेको बताए । उनले महालक्ष्मी नगरपालिमा सबैखाले जातजातिको बसोबास रहेकाले सबै जाति समुदायको भाषा, संस्कार, संस्कृतिको सम्मान हुने गरी सबै वडालाई समेटेर आगामी दिनमा अघि बढ्ने पनि स्पष्ट पारे । 

लासा गुम्बाको पूर्वाधार विकासका लागि तत्काललाई गुम्बाको तारबार गर्न ५० हजार, र गुम्बाको हल निर्माणको लागि आवश्यक पर्ने च्यादर महालक्ष्मी नगरपालिकाको तर्फबाट उपलव्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

त्यसैगरी अर्का विशेष अतिथि नेपाल तामाङ घेदुङका संघीय सदस्य लाचन्द्र गोङ्बा तामाङले महालक्ष्मी नगरपालिकाको देउरालीमा स्थानीय तामाङ समुदायको अगुवाईमा गुम्बा बनेको देख्न पाउँदा खुसी लागेको बताए । 

उनले तामाङ, गुरुङ, शेर्पा, मगर लगायतका जातिहरु परापूर्वकाल देखि नै बुद्ध धर्म मान्ने जाति भएकाले बुद्ध भगवानको सन्देशलाई अहिलेको युवा पुस्तामा फैल्याउन सक्नु पर्नेमा जोड दिए । 

तामाङले लासा गुम्बाको थप भौतिक विकासका लागि आफू घेदुङको संघीय सदस्यको नाताले मातृ संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा उनले गुम्बालाई सहयोग स्वरुप नगद रु. ५ हजार प्रदान गरे । 

सो अवसरमा महालक्ष्मी नगरपालिकाका उप–प्रमुख मञ्जु कुमारी अधिकारी, वडा नं.८ का वडाध्यक्ष रामबहादुर खड्का, वडा नं.९ का वडाध्यक्ष बोधनाथ काफ्ले, प्रमुख लामा गुरु ज्ञानु लामा, नेपाल तामाङ घेदुङ महालक्ष्मी नगर समितिका सचिव उत्तम पाख्रीन तामाङ, महालक्ष्मी न.पा. ९ सिरिसे गणेशटारमा रहेको टासी छ्योलिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तामाङ, देउराली बजार व्यवस्थापन समितिका अध्यक्ष तुलसी पुलामी मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै देउराली बजार र आसपासको क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए । 

समारोहमा लासा गुम्बा व्यवस्थापन समितिका सचिव पूर्णबहादुर गुरुङले सहभागी अतिथिहरुलाई गुम्बाको तर्फबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा उनले लासा गुम्बा वि.सं.२०७१ साल फागुण २२ गते शिलान्यास भई वि.सं.२०७२ साल चैत्र २९ गते दर्ता भएको बताए ।

सो अवसरमा उनले हालसम्म गुम्बा निर्माण गर्ने क्रममा स्थानीय उपभोक्ताहरुको तर्फबाट ३ लाख, १९ हजार, २ सय, जनश्रमदान ५० हजार, महालक्ष्मी नगरपालिकाबाट ३ लाख, ७५ हजार, वडा नं.८ को वडा कार्यालयबाट १ लाख, ५० हजार, साविक मुर्तिढुङ्गा गाविसका कार्यालयबाट ३० हजार गरी जम्मा ९ लाख, २४ हजार, २ सय रुपयाँ खर्च भइसकेको बताए ।

सो अवसरमा उनले गुम्बामा राख्नका लागि बुद्ध भगवानको तीन वटा मूर्ति प्रदान गर्ने धनकुटा नगरपालिकाका पूर्व नगर प्रमुख एवं हाल काठमाडौ बौद्ध निवासी वाङ्दी लामालाई पनि विशेष धन्यवाद दिए । 

कार्यक्रमको अन्त्यमा गुम्बा समुद्घाटन समारोहमा उपस्थितलाई समितिको तर्फबाट अध्यक्ष दुर्गाबहादुर लोप्चन तामाङले मायाको चिनो प्रदान गरे । 

कार्यक्रममा स्थानीय कलाकारले तामाङ सेलोमा नृत्य प्रस्तुत गरे । ताम्बाहरुले साङ्गसेर्गेम गरेका थिए । 

कार्यक्रममा नगर स्तरका विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख र स्थानीय समुदायको सहभागिता रहेको थियो । 

कार्यक्रमको सञ्चालन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका अध्यक्ष सन्तवीर लामाले गरेका थिए । गुम्बा समुद्घाटन गर्नुपूर्व बुद्ध भगवानको तीन वटा मूर्तिलाई देउराली बजारको विभिन्न स्थानमा रहेका शक्तिपिठहरु, त्यहाँ भएको मठ मन्दिर, शिवालय, देवालय घुमाएर लामा गुरुहरुबाट नवनिर्मित गुम्बामा प्रतिस्थापन गरिएको थियो ।