फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले जोर्डनसँग ३–० को हार व्यहोरेको छ । 

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफमा जोर्डनले १ गोलको अग्रता लिएको थियो । पहिलो हाफको २४ औं मिनेटमा बाहा फाइजल सिफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई १–० को अग्रता दिलाएका थिए ।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । नेपाली टोलीलाई दबाबमा राखेको जोर्डनले पाएका मौकाहरुलाई नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३–० को जित दिलाए  ।

जितसँगै समूह ’बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ ।