सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको छ । 

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलको पहिलो हाफको चौंथो मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए  ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ हाओले पेनाल्टी एरियाभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

खेलको उत्तरार्धको ८२ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै जित सुनिश्चित गरे 

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

जितसँगै छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।

चाईनिज ताईपेको यो छैटौं हार हो । अंक विहीन ताईपे तालिकाको पुछारमा रहेको छ ।

अब नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।

४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।