धरान । नेपाल तरुण दल सुन्दरहरैंचा नगर समितिले ‘गरिबका घरमा तरुण दल’ अभियान सञ्चालन गर्दै लकडाउनको समयमा समस्यामा परेका गरिब परिवारको घरमै पुगेर राहत वितरण सुरु गरेको छ ।

अभियाान अन्तर्गत एक सातादेखि सुन्दरहरैंचा क्षेत्रमा राहत वितरण भईरहेको नगर अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सङ्क्रमित परिवारको घरमा सेनिटाइजर छर्किएर अभियान सुरु गरिएको थियो । अन्यत्र सङ्क्रमण फैलिन नपाओस् भनेर सेनिटाईज गरिएको र त्यसपछि विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

तरुण दलले हाल प्रत्येक वडामा गरिब परिवारको अवश्था अनुसार राहत वितरण भईरहेको उनले बताए । उनी भन्छन्, ‘कतिपय घरमा दिनमा एक पटक पनि राम्रो खान नपाउने अवस्था देखियो । त्यसपछि ‘गरिबका घरमा तरुण दल’ अभियान सुरु गरिएको हो ।’

सुन्दरहरैंचाका प्रत्येक वाडमा तरुण दलका प्रतिनिधि खटिएको र उनीहरुले राहत वितरण देखी सेनिटाईजर छर्कने काम गरिरहेको उनले बताए । अभियान अन्तर्गत हालसम्म ८ सय भन्दा बढी घरमा राहत वितरण गरेको तरुणदलले जनाएको छ ।

यो अभियान केहीसमय निरन्तर रहने बताइएको छ । तरुण दलको अभियानमा विभिन्न संस्था र व्यक्तिहरुले सहयोग पु¥याईरहेका छन् । अभियान अन्तर्गत सुन्दरहरैचाका सबै चेकपोष्ट तथा प्रहरी चौकीमा पनि स्वास्थ्य सामग्री वितरण गरिएको श्रेष्ठले बताए । सोहि अभियान अन्तर्गत नै जेठ २२ मा रक्तदान कार्यक्रम समेत गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।